खाडी मुलुक जाने महिला रुपईडिहामा पक्राउ

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६       | 326 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय रुट प्रयोग गरी अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनात एसआई सरिताका अनुसार सीमानाकामा रुपईडिहा प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँचका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । उनीहरुको जवाफमा चित्त नबुझेपछि एसएसबी क्याम्पमै लगेर थप सोधपुछ गर्दा दुबै महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।
उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको सुरक्षा अधिकारीको भनाई छ । कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन ।
कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     2:21:52 PM  |