खुकुरी प्रहारबाट ज्वाइँ सिकिस्त

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६       | 84 Views   ||

सदरलाइनडटकम,
दाङ : दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दलाई ससुराली गएको समयमा हिजो बेलुका सासूले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए । घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि राति नै थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रेफर’ गरिएको प्रवक्ता शाहले बताए । श्रीमतीसँगै घोराही १० नारायणपुरमा ससुराली गएको समयमा चन्दमाथि ४१ वर्षीया सासू मधुकुमारी मल्लले छोरीलाई कुटेको भन्दै खुकरी प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते चन्द र उनकी पत्नी २२ वर्षीया सरस्वती मल्लका बीचमा बुधबार बेलुका सामान्य विवादपछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि सासूले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन् । खुकुरी प्रहार गरेको अभियोगमा सासू मल्ललाई प्रहरीले पक्राउ गरेको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६     4:39:19 PM  |