भारतीय अतिक्रमणकोबिरुद्ध नेपालगञ्जमा प्रदर्शनी

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६       | 237 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : भारतले केही दिनअघि सार्वजनिक गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भुभाग अतिक्रमण गरेको विरोध गर्दै अनेरास्ववियु बाँकेले नेपालगञ्जमा बुधबार प्रदर्शन गरेको छ ।
सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्सामा भुभाग नेपाली लिपुलेक र कालापानी समावेश गरी जारी गरेकोमा विरोध प्रदर्शन गरेको हो ।‘गो ब्याक इन्डिया, भारतीय बिस्तारबाद मुर्दाबाद‘ लेखिएको प्ले कार्डसहित नेपालगन्जको बिपि चोकमा अनेरास्ववियुले प्रदर्शन गरेको थियो ।
अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको स्वाधीनतामा आँच आउने किसिमले नेपाली भुभाग अतिक्रमण गरी नक्सा बनाएको र त्यसको बिरोध गर्दै नक्सा नसच्चिय सिमाक्षेत्रसम्म पुगेर आन्दोलन चर्काउने बताए ।
बिरोध कार्यक्रममा अनेरास्ववियुका नेता राजेन्द्र बिष्ट, बिमल मल्ल ठकुरीले कोणसभालाई सम्बोधन गरेका थिए भने कोणसभाको सन्चालन अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका सचिव प्रकाश बिकले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६     11:04:56 PM  |