पाँचजना कारागार चालान, एकजना धरौटीमा रिहा

  
  प्रकाशित मितिः आइतवार, कार्तिक १७, २०७६       | 618 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको करोडौ रूपैयाँ अपचलनको अभियोगमा जिल्ला अदालत बाँकेले चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
४३ करोड रुपैयाँ अपचलन भएको भनिएको अभियुक्तहरुको सुनुवाई गर्दै न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतवार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुबेदी, बैंकिङ्ग प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो ।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रूपैयाँ धरौटी मागिएको छ । बज्राचार्य दिउँसो २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जायजेथा राखिपाउँ भनेर निवेदन दिएका छन् । जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले चौधरीलाई थुनामै बस्नु पर्नेछ ।
बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी ५२ करोडबाट ४३ करोड रूपैयाँ अपचलन भएको दाबी गरेको छ । जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र संगठित अपराधअन्र्तगत अभियोग पत्र दायर गरेको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी ६ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार छन् ।
सहकारीका ११ हजार नौ सय ८ निक्षेपकर्ता र एक हजार आठ सय ६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक १७, २०७६     7:16:10 PM  |