राष्ट्रिय विभुती शंखधर साख्वा चोकको बिरोध नगर्न आग्रह

११ कार्तिक २०७६, सोमबार १६:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज   :  सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले देशको विभूतीको नाममा चोक नामाकारण गर्ने अभियानमा कसैले राजनीति गर्न नहुने बताएका छन् । नेपाल सम्बत् ११४० को अवसरमा सोमवार नेपालगन्जमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री राईले राष्ट्रिय विभुतीलाई सम्मान गर्ने दायित्व राष्ट्रको भएको बताउँदै नेपालगञ्जको कारकाँदो चोकमा शंखधर साख्वाको शालिक स्थापना गरि नामाकारण गरिनु पर्ने पक्षमा आफू भएको बताए ।
उनले गरिव जनताको ऋण मोचन गरेका शंखधर साख्वाको सम्मानका लागि नेपाल सम्वत्लाई प्रचलनमा ल्याउनु पर्ने बताए । ‘शंखधर साख्वाको सम्मान गर्न सकेमात्र नेपाल र नेपालीको गौरव बढ्ने छ,’ उनले भने । नेवार समुदाय नेपालको सवैभन्दा पूरानो आदिबासी भएको जिकिर गर्दै उनले नेवारी लिपी र नेपाल सम्वत्को संरक्षणका लागि राज्यले ठोस नीति ल्याउनु पर्ने बताए ।
उनले शालिक स्थापनाका लागि शंखधर साख्वा चोक फाइनल हुनासाथ रकम उपलब्ध गराउने उनको भनाई थियो । उनले संसदिय विकास कोष र सहरी विकास मन्त्रालयले शालिक स्थापनाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘शालिक स्थापनाका लागि रकम अभाव हुने छैन,’ मन्त्री राईले भने ।
उनले राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र आइसकेकोले जनताले भत्काएका पूर्व राजाको शालिक भएको ठाउँलमा पुनः शालिक राख्ने विषयमा आफू सहमत हुन नसक्ने बताए । उनले त्रिभुवन चोकमा फेरि पनि त्रिभुवनको शालिक राख्न सम्भव नभएको बताए । उनले त्रिभुवन चोकमा रातारात डोजर लगाएर भत्काउने प्रयास गलत भएको जिकिर गरे ।
नेवाः पुचः नेपालगन्जका अध्यक्ष नन्दकला श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), बाँके अध्यक्ष आइपी खरेलले राष्ट्रिय विभुती शंखधर साख्वाको नाममा चोक नामाकरणमा विरोध आउन नहुने धारणा राखे ।
उनले सवैको सहमति अनुसार आदर्शनगर चोकलाई शंखधर साख्वा चोक नामाकरण गर्न सुझाव दिए । चोक र शालिक स्थापनाका लागि संघीय सहरी विकास मन्त्री राईले सहयोग गर्नुपर्ने धारणा राख्दै उनले सकारात्मक सोँचका साथ विकासमा लाग्न आग्रह गरे ।
नेपाली काँग्रेस, बाँकेका सभापति किरण कोइरालाले राष्ट्रिय विभूती साख्वाको नाममा चोक नामाकरणमा विलम्ब गर्न नहुने धारणा राखिन् । उनले चोकको नामाकारणमा नेपाली काँग्रेसले विरोध नगर्ने स्पष्ट पारिन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष विन्दूभुषण बस्नेतले राजमार्गमा शालिक राख्न नपाइने सडक ऐनमा भएपनि शंखधर साख्वा राष्ट्रिय विभूती भएकोले आदर्शनगर चोकलाई शंखधर नामाकरण गर्न आपूmले पहिलो अभियान चालेको दावी गरे । उनले गणेशमानको शालिक पनि अनुमति नलिएर निर्माण गरिएको बताउँदै उनले शालिक निर्माणका लागि सहयोग गर्ने बताए ।
नेवाः देय दबु, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले कारकाँदो चोकलाई शंखधर साख्वा चोक नामकारण गर्दा विभिन्न समुदायबाट विरोध आएको बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले सहमति दिए पनि सडक ऐनका कारण चोकमा शालिक निर्माण गर्न नसकेको स्पष्ट पारे । उनले भने, ‘कारकाँदो चोकमा सम्भव नभएपछि आदर्शनगर चोकलाई रोजेका हौँ, यहाँ शालिक राख्ने विषयमा छलफल भइरहेको छ ।’
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपाल सम्बत् नेपाल र नेपालीको इतिहास बोकेको सम्वत् भएकोले यसको जगेर्ना गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपाल सम्बत्ले नेपालीको पहिचान जोगाउने धारणा राखे ।
यस अघि बाँकेका नेवार समुदायले नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेका थिए । कारकाँदो चोकबाट सुरु भएको ¥याली धम्बोझी चोक, घरबारी टोल, पूरानो सिनेमा रोड, गगनगन्ज, त्रिभुवन चोक, सदरलाइन, भेरी अस्पताल हुँदै आदर्शनगर चोकमा पुगेर सभामा परिणत भएको थियो ।

Next Post

विकास हुन नसकेको प्रति पूर्वराजा असन्तुष्ट

११ कार्तिक २०७६, सोमबार १६:२६
सदरलाइनडटकम, काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा राजनीतिक परिवर्तन भएपनि विकास र प्रगति हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । कमलादीस्थित बहिनी शोभाराज्य लक्ष्मीको हातबाट भाइटीका ग्रहण गरेपछि देशको अवस्थबारे सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै परिवर्तनका दुईवटा शर्त पूरा नभए परिवर्तनकारीनै अफ्ठ्यारोमा पर्ने संकेत गरेका हुन् । पूर्वराजा शाहले विकास जनताले […]