सदरलाइनडटकम,
सल्यान : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिवार बिहान गिरफ्तार गरेको हो ।
घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको छ । सल्यान प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । बम विस्फोट, हातहतियार र आगजनीको मुद्धामा डाँगीलाई गिरफ्तार गरिएको र अनुसन्धान भइरहेको उनले बताए ।
२०७५ फागुनमा सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारीमा परेका ती सबै अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भैसकेका छन् ।
