महिला क्रिकेट लिग उपाधि चितवनको कब्जामा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६       | 75 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : पहिलो संस्करणको महिला फ्रेन्चाइज लिग वुमन्स च्याम्पियन्स लिग टी २० क्रिकेटको उपाधि चितवन राईनोजले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल प्रतिस्पर्धामा क्याट क्विन्स काठमाण्डौलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधिमाथि कब्जा जमाएको हो । जीतका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काटमाडौं ६७ रनमै खुम्चियो ।
काठमाण्डौ निर्धारित २० ओभरमा ६७ रनमा अलआउट हुन पुग्यो । काठमाण्डौका लागि अप्सरी बेगमले १५, ममता थापा र इश्वरी विष्टले समान १३–१३ रन बनाए । बाँकी व्याट्सवुमनले दोहोरो अंकको रन बनाउन सकेनन् । काठमाण्डौलाई सस्तैमा समेट्न सुमन खतिवडा र निग्मा तामाङले ३–३ विकेट खसाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ्गमा तानिएको चितवनले पुरा ओभरमा ४ विकेट खर्चदै १ सय १२ रन बनाएको थियो ।
चितवनकी सुमन खतिवडाले सर्वा्धिक २९ रन बनाउँदा कप्तान इन्दु बर्मा २२ रनमा नटआउट रहिन् । काजोल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रन बनाइन् । सरस्वती कुमारी, लक्ष्मी साउद, संगीता राईले एकएक विकेट लिए । ५ फ्रेन्चाईज टोली सहभागी प्रतियोगिताको उपाधिसँगै चितवनले नगद ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६     4:33:07 PM  |