बाँके–बर्दियामा लगाईएको गरिमा जातको धान नपसाएपछि किसान चिन्तित

७ कार्तिक २०७६, बिहीबार ११:३१
 

सदरलाइन /रुद्र सुवेदी,
नेपालगञ्ज : थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको विचल्ली हुने भएको छ । १२० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उदेश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन ।
बर्दिया राजापुर–१० पहाडिपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते विउ राखेर असार ७ गते डेढ विगाह खेतमा रोपेको गरिमा जातको धान नपसाएपछि वर्षभरी हातमुख जोर्न धौ–धौ हुने भएको गुनासो गरेका छन् ।
उनले गरिमा धान नफलेको जनगुनासो आएपछि कृषकको खेतबारीमै पुगेकी पाँच नंम्बर प्रदेश सरकारको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलसमक्ष आफ्नो ब्यथा पोख्दै भने–‘ गत वर्ष पनि यसै खेतमा गरिमा जातकै धान रोपेको थिए । गत वर्षमा राम्रो फलेको भएपनि यो वर्ष भने एग्रोभेटले नै गरिमा धानको बिउ भनेर नक्कली विउ दिएर विचल्लीमा पा¥यो ।’
उनले १२० दिनमा तयार भई तोरी छरेर चैतेधान लगाउने सोचले एग्रोभेटको विश्वासमा परेर आफु ठगिएको बताउदै अहिले खेतमा हरियो धानको रुपमा घाँसमात्र रहेको गुनासो गरे ।
तीन बाली हुने लोभले गरिमा धान रोपेकी बर्दिया राजापुर नगरपालिका वडा नं.८ बञ्जारे टौडाकी किसान रामकुमारी थारुले आफुसंग भएको ५ कठ्ठा जमिन सबैमा रोपेको तर, पाक्ने बेलामा पनि धान नपसाएपछि के खाने भन्ने चिन्तित बनाएको गुनासो गर्दै भनिन–‘हाम्रो सबै खेतमा गरिमा धान रोपेका थियौ । यो धान रोप्दा तीन बाली लगाउन पाईन्छ भनेर यहाँ त एकै बालि भएन बर्षभरी कसरी गुजरा चलाउने हो भन्ने पिरले रातभर निद्रा नै पर्दैन ।’
राजापुर नगरपालिका–५ भौराका सोभनलाल थारुले गोरखनाथ धानको बिउ लिन एग्रोभेट जाँदा धेरै फल्छ भनेर एग्रोभेटबाटै गरिमा धानको बिउ दिएर पठाएको बताए । ‘अरुको धान पसाएर काट्न लाग्दा पनि हाम्रो छिटो फल्ने धान नपसाएपछि एग्रोभेटमा गए त्यहाँबाट औषधि छिट अनी पसाउछ भनेर बिउ बेच्ने एग्रेभेटले भन्यो आएर औषधि छिटे औषधिको मात्र नोक्सान भो धान जस्ताको त्यस्तै नपसाई बस्यो’– मन्त्री पौडेललाई आफ्नो बेथा सुनाउदै भने–‘गोरखनाथ नै ल्याएर रोपेको भए बर्षभरी पटभरी खान त पुग्ने थियो गरिमा रोपेर घाँसमात्र हात लाग्यो ।’
राजापुर ५ कै पोहरी थारुले आफुसंग भएको सबै ३ कठ्ठा जमिनमा धेरै बाली भित्र्याउने लोभमा गरिमा धान रोपे तर, एग्रोभेटले नै गरिमा जातको भन्दै नपसाउने धानको बिउ दिएर आफुहरुको विचल्ली पारेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई राजापुर बर्दिया (धान सुपरजोन) का प्रमुख तपेन्द्रबहादुर शाहले बर्दियाको राजपुरमा १५० हेक्टर जमिनमा लगाईएको गरिमा धान नपसाएको प्रारम्भिक तथ्याङ्क संकलन भएको र यो तथ्याङ्क अझ बढ्न सक्ने बताए ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले गरिमा धानको खोलमा अरु नै जातको धानको बिउ हालेर किसानलाई विउ बेच्ने कम्पनीले ठगेको हुनसक्ने आशंका व्यत्त गर्दै भने–‘ १२५ दिनमै पाक्नु पर्ने धान १५० पारगर्दा पनि नपसाएपछि नक्कली बिउ परेको स्पष्ट देखिएको छ । धानको बिउको खोलमात्र गरिमाको राखेर अरुनै धानको विउ बेचिएको हो । यस विषयमा अनुसंधान गर्दा झन पुष्टि हुने छ ।’ उनले बाँकेमा ५ हेक्टर र बर्दियामा २ सय १ हेक्टरमा गरिमा धान खेती गरेको प्रारम्भिक तथ्याङ्क आएको र यो अझ बढ्नसक्ने जानकारी दिए ।
५ नं प्रदेश सरकारको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले गरिमा धान रोपेका सबै किसानले रोपेको क्षेत्रफलमा उत्पादन हुने अनुपातमा क्षतिपूर्ती बिउ बितरक कम्पनीले दिनु पर्ने बताईन ।
ग्रिमा धान नपसाएको जनगुनासो व्यापक आएपछि विज्ञसहितको टोली लिएर बाँके र बर्दियाका पीडित किसानकै खेतमा पुगेकी मन्त्री पौडेलले एक हप्तभित्र किसानको अभिलेख तयार गरी क्षतिपूर्तीको लागि पहल गर्ने बताईन ।
उनले भनिन–‘ बिउ बितरण कम्पनीले किसान गरिमा रोपेको क्षेत्रफलमा फल्ने अनुपातको क्षतिपूर्ती दिनु पर्छ । किसानलाई झुक्काएर नफल्ने र नक्कली बिउ दिनु घोर अपराध हो । क्षेतिपूर्ती र कारवाहीको दायरमा बिउ बितरण गर्ने कम्पनी तथा विक्रि एजेन्टलाई ल्याईने छ ।’

Next Post

स्काभेटरले किच्दा बैतडीमा एकको मृत्यु

७ कार्तिक २०७६, बिहीबार ११:३१
सदरलाइनडटकम, बैतडी : स्काभेटरले किच्दा बैतडीमा बिहीवार विहान एक जनाको मृत्यु भएको छ । स्काभेटरले किच्दा मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीया शुक्रसिंह पुजाराको मृत्यु भएको हो । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक–ढणौन सडक निर्माणपछि घर निर्माण गर्न […]