पाँचवर्ष मुनिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

  
  प्रकाशित मितिः शनिबार, कार्तिक २, २०७६       | 34 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : सरकारले शनिवार र आइतवार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ ।
स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने छन् । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने बताए ।
साथै छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत छ । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।

प्रकाशित मितिः शनिबार, कार्तिक २, २०७६     4:07:24 PM  |