लागुऔषध नियन्त्रणका लागि प्रहरीसंग सहकार्य

२७ आश्विन २०७६, सोमबार १२:२९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) :  लागू औषधका बिरुद्ध प्रहरीसंगको सहकार्यमा बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा रहेको सचेत युवा मञ्च अगाडि बढ्ने भएको छ । राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका–२ कार्यालयको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न लागि सरोकारवालसंग वृहत अन्तरक्रियाको अवसरमा कार्ययोजना सहित प्रहरीसंग सहकार्य गर्दै अगाडि बढ्न खोजिरहेको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मी बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्रनं. ३ का सांसद नन्दलाल रोकायले समाजमा पछिल्लो समय अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्थामाथि खतरा हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि शान्तिको खोजी घरबाटै हुनु पर्ने बताउँदै अभिभावकले आफ्ना छोरा छोरीलाई राम्रो संस्कार दिनु पर्नेमा जोड दिए ।
नेपाल प्रहरीलाई गलत प्रभावमा नपरी राम्रो काम गरे लोकप्रियता कमाइने भन्दै सांसद रोकायले सत्यतथ्यमा लागे जनता साथ दिन तयार हुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिकवीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए ।
उनले लागुऔषध नियन्त्रणका लागि स्थानीय स्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिवद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने दावी गरे । खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देविलाल खनालले अराजकता र लागुऔषध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने अठोटका साथ लागेको सचेत युवा मञ्चको साथमा वडा कार्यालय रहेको बताए । कार्यक्रममा खजुरा क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Next Post

प्रदेश नम्बर पाँचमा भिक्षा माग्न निषेध

२७ आश्विन २०७६, सोमबार १२:२९
सदरलाइनडटकम, बुटवल : प्रदेश नम्बर पाँचलाई सडक मानव मुक्त बनाउने अभियान सुरु भएको छ । अब प्रदेशका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि मानिसहरुले बसी भिक्षा माग्न पाइने छैन । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित सिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो सिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा […]