सदरलाइनडटकम,
कञ्चानपुरमा : कञ्चनपुरको भीमदत्त नगरपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय स्थल रौटेलामा पर्यटन भ्रमण बर्षलाई लक्षित गरी १९ फिटको त्रिशुल राखिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी भीमदत्त नगरपालिकाका सबै वडाका प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान विन्दुमा त्रिशुल राखिएको हो ।
नगरपालिकाका मेयर सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका थिए । मेयर विष्टको घोषणाअनुसार रौटेलामा त्रिशुली राखिएको छ । रौटेला धार्मिक पर्यटकीय स्थल भएकाले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशुल राखिएको उनले बताए । प्रचारका लागि रौटेलामा यस अघि होर्डिङ्ग बोर्ड लगाइएको छ । धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेबसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ ।
रौटेलादेखि ब्रह्मदेबसम्मका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाकाले प्राथमिकता दिएर काम अघि बढाएको छ । रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएका छन् । बाराकुण्डामा पिकनिक स्पट निर्माण गरिएको छ । यसैगरी बाराकुण्डाबाट विष्णु मन्दिर धामसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । भारतका पूर्णा्गिरी माताका दर्शनार्थीहरुलाई रौटेला बाराकुण्डासम्म पुगाउने लक्ष्य सहित बाराकुण्डाका कण्डहरु पुनःभरण गरिएका हुन् ।
पूर्णागिरी माताका दर्शनार्थीहरु धार्मिक पर्यटकीय मार्ग भएर बाराकुण्डा पुगाउने लक्ष्य राखिएको छ । पूर्णागिरी माताका दर्शनार्थीहरु ब्रह्मदेब र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि वर्सेनी आउने गरेका छन् ।