बागेश्वरीमा सरकारी पूजापछि पञ्चबली

  
  प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६       | 215 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज :  घटस्थापनाको आठौै दिन अष्ठमीको अवसर पारेर नेपालगञ्जको प्रशिद्ध शक्ति पिठ वागेश्वरी मन्दिरमा विधिवत पूजाआजा गरी पञ्चबली दिईएको छ ।
सो अवसरमा आइतबार बिहानै बागेश्वरी व्यवस्थापन गुठी समितिका पदाधिकारी , बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेल, बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली लगायतले करिव डेढ घण्टा लगाएर सरकारी पूजा र खुलादर्शन गरेपछि पञ्चबली दिईएको थियो ।
बागेश्वरी मन्दीरका मूल महन्त चन्द्रनाथ योगीले सरकारी पूजापछि मात्र अन्य सर्वसाधरणको लागि पूजा तथा बलीको लागि खुला हुने परम्परा रहेको जानकारी दिए । सरकारी पूजामा केही बिलम्ब भएको भन्दै मन्दिरमा दर्शनको लागि लाईनमा बसेका सर्बसाधारणहरुले आक्रोश पोखेका थिए ।
वागेश्वरी मन्दिरमा छिमेकी जिल्ला लगायत छिमेकी मूलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी बली चढाउने चलन रहेको छ । अष्ठमीको दिनमा मात्रै बागेश्वरी मन्दीरमा ५ हजार बढी बोका र त्यसैको हाराहारीमा कुखुरा हाँसको बली चढ्ने मन्दीरको गुठी व्यवस्थापन समितिले जनाएको छ । बलीको लागि दिईने भेटीको रसिद काट्नु पर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
वागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पुरा भएको खुशी मनाउदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलि आएको छ । घटस्थापनाकै दिनदेखि नवरात्री शुरु भएकाले नवरात्रीभर वागेश्वरी मन्दिरमा बिशेष पूजापाठ गरिन्छ ।

प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६     10:06:35 AM  |