दशैंका अवसरमा नेपालगञ्जमा रामलीला शुरु

  
  प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       | 120 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला मञ्चन शुरु भएको छ । प्रत्येक वर्षझैं यसवर्ष पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो । असोज २१ गते पर्ने विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज १३ बाँके बगियामा आईतवार रातीदेखि रामलीला प्रारम्भ भएको हो ।
रामायणमा आधारित शुरु भएको नाटक मञ्चन प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहने छ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गर्दैछ । योसँगै नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका र मेयर डा. धवल शम्शेर राणाले संयुक्तरुपमा विधिवत पूजापाठ गरि रामलीला शुभारम्भ गरे ।


प्रमुख जिल्ला अधिकारी खडका र मेयर राणाले रामलीलाले धार्मिक र सांस्कृतिक सन्देशसँगै आपसी एकता तथा भातृत्व कायममा समेत मदत पुर्याउने विश्वास व्यक्त गरे । बाँकेका प्रहरी प्रमुख विरवहादुर ओली, विशिष्ठ अतिथीलगायतको उपस्थिती रहेको समारोहमा सञ्चालक समितिका कार्यबाहक अध्यक्ष सन्तोष कनोडिया, सञ्चालक समितिका महामन्त्री जगदिशप्रसाद वैश्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलगायतले रामलीलाको विविध पक्षबारे धारणा राखेका थिए ।
यसअघि आइतवार दिउँसो शोभायात्रासमेत निकालिएको थियो । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन गठित विभिन्न ६ वटा समिति सक्रिय रहेको रामलीला समितिका प्रचार मन्त्री विष्णुलाल कुमालले बताए ।

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     2:53:07 PM  |