फिल्म ‘शोले’का कालियाको मृत्यु

  
  प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       | 139 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको सर्वाधिक चर्चित फिल्म ‘शोले’का पात्र कालियाको निधन भएको छ । कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमवार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा निधन भएको हो ।
अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो । खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनले ‘अन्दाज अपना अपना’मा निभाएको ‘रोबर्ट’को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो ।
रोचक कुरा के भने ‘शोले’बाट अत्याधिक चर्चा पाएपनि खोटेको सो फिल्ममा जम्मा दुई सिन मात्र थियो । फिल्म ‘शोले’ सुपरहिट भएपछि उनले गब्बर सिंहको भूमिकामा अभिनय गरेका अमजद खानसँग अरू पनि धेरै फिल्ममा सँगै काम गरे ।
सन् १९४१ मा मुम्बईमा जन्मेका खोटे सन् १९६४ देखि बलिउडमा सक्रिय थिए । ‘मल्टिपल अर्गान फेलर’ का कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
(एजेन्सी)

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     2:34:49 PM  |