नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते हुने

१२ आश्विन २०७६, आईतवार १९:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्ज म्यारथनको पाँचौ संस्करण आगामी मंसिर ७ गते ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना गरिने भएको छ ।
क्रियटिभ ह्याण्ड्सले आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन २०१९ को तयारी तिब्र पारिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगञ्ज म्याराथन आयोजना थालिएको थियो ।
आयोजक क्रियटिभ ह्याण्ड्सका टिएस ठकुरीद्वारा जारी प्रेसनोटमा ट्राफिक व्यवस्था मिलाउन सहज हुने भएकाले शनिबार मंसिर ७ गते नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण हुने उल्लेख गरिएको छ । ‘नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण भव्य गराउन व्यवस्थापन चुस्त र पुरस्कार राशीमा बृद्धि गर्ने तयारी गरेका छौं । पुरस्कार राशी भने केहि समयपछि सार्वजनिक गर्नेछौं’–प्रेसनोटमा भनिएको छ ।
यस वर्ष पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ ।
यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता बनेका थिए ।
महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भएकी थिइन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिनेछ । नेपालगञ्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना छ ।

Next Post

नेपालगञ्ज कारागारबाटै धम्काउदै पैसा असुल्दै, एक पक्राउ

१२ आश्विन २०७६, आईतवार १९:५८
सदरलाइनडटकम,नेपालगञ्ज  : बाँकेको नेपालगञ्ज कारागारमा ज्यानमार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई नेपालगञ्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ ।बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]