बाँकेमा डेंगु संक्रमितको संख्या ५७ पुग्यो, एकको मृत्यु

७ आश्विन २०७६, मंगलवार १०:२२
 

रुद्र सुवेदी ,
नेपालगन्ज  :  सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा भने बाँकेमा उपचारका लागि आएका डेंगुका विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् ।
भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेल बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड बाहेक सबैको पैसा तिर्नु परेको छ ।’ उनी आफ्नी छोरी सुर्खेतमा बसेर अध्ययन गर्दै गर्दा डेंगुको संक्रमण भएर उपचारको लागि आएको बताईन ।
यसैगरी सोही वार्डको बेड नं. ८१ मा रहेका विरामीका आफन्तले झुलसहितको बेड बाहेक अरु कुनै सुविधा अस्पतालबाट नपाएको बताईन । उनले विरामीको लागि आवश्यक पर्ने सामान्य सिटामोलपनि आफैले किन्नु परेको गुनासो गरिन । दाङ्गबाट उपचारको लागि नेपालगन्ज आएकी उनले भनिन–‘ निशुल्क भनेर हल्ला गर्ने व्यवहारमा नउर्ताने सबै विरामीले किन्नु पर्ने ।’
यतिबेला बाँकेका विभिन्न अस्पतालमा २७ जना डेंगुका विरामीले उपचार गराई रहेका छन् । देशभर डेंगुको प्रभाव रहेको बेलामा बाँकेमा पनि डेंगुको संक्रमण बढ्दो अवस्थामा देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत साउनदेखि हालसम्म ५७ जना डेंगु संक्रमितले बाँकेमा रहेका तीन ठूला अस्पतालमा उपचार गराएका छन् ।
स्वास्थ्य कार्यालय बाँके किटजन्य रोग फोकलपर्शन दुर्गा गौतमले दिएको जानकारी अनुसार भेरी अस्पताल नेपालगन्जमा ११ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ११ जना र कलेजकै नेपालगन्जमा रहेको अस्पताल (नर्सिङ्ग होम) मा ५ जनाले उपचार गराई रहेका छन् ।
सरकारले डेंगुका बिरामीको निशुल्क उपचार गर्ने भने पनि स्वास्थ्य विभागबाट स्पष्ट कुनै आदेश नआएको कारण विरामीले अस्पतालमा निशुल्क झुलयुक्त बेड बाहेक अरु केही पाउन नसकेको गुनासो गरेका छन् । ‘माथीको स्पष्ट आदेश आएको छैन हामीले पनि कसरी सेवा दिने अलमलमै छौ’–फोकलपर्शन गौतमले भनिन–‘ झुल र बेड उपलब्ध गराएका छौ अरु स्पष्ट आदेश पर्खेर बसेका छौ ।’
बाँकेमा उपचारको लागि आएका डेंगुका विरामी मध्ये एकजनाको मृत्यु भएको छ । फोकलपर्शन गौतमका अनुसार मृत्यु भएका विरामी बर्दियाको रहेको र उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज उपचारको लागि भर्ना थिए ।
बाँकेमा उपचारको लागि आएका ५७ जना डेंगुका बिरामी मध्ये सबैभन्दा बढी बाँकेकै रहेका छन् । बाँकेका २०, बर्दियाका ९, कैलालीका ७, सुर्खेतका ५, कालिकोट २, सल्यान २, रुकुम १, दाङ्ग १ र दैलेखका १ जना गरी ५७ जना रहेका छन् । उनीहरु मध्य एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीका अनुसार अस्पतालमा उपचारको लागि आएका विरामीमा संक्रमण बाँकेमा नभएर बाहिर जिल्लामा भएको पाईएको बताए । उनले
बाहिरी जिल्लाबाट बिरामी भई जाँच गराउन नेपालगन्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेंगु फेला परेको दाबी गर्दै भने–‘अहिलेसम्म बाँकेमा जोखिम देखिएको छैन । यद्यपि, सुरक्षाका उपाय भने अपनाउनु आवश्यक छ ।’
भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण नभएको जानकारी दिदै उपचारको लागि आएका अधिकांश विरामीहरु बुटवल, नारायणघाट, पोखरा जहाँ डेंगु फैलिएको छ त्यो ठाउ भ्रमण गरेर आएकाहरु रहेको जानकारी दिए ।
उनले भने–‘बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ । भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’ डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेको उनले बताए् । उनले भने–‘ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुने डेंगुका लक्षण हुन् ।’
डा.पाण्डेले बाँकेमा डेंगु जोखिम नदेखिए पनि सतर्कता अपनाउन भने सुझाव दिदै भने–‘नियमित झुल लगाएर सुत्ने, पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, खाली ड्रम, गाडीका टायर आदिमा पानी जम्न नदिने त्यस्तो भएमा पानी फालिदिने ।’ डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएको कारण त्यस्ता प्रकारको लामखुट्टे बस्ने स्थानको सरसफाईमा विशेष ध्यान दिने चिकित्सकको सल्लाह रहेको छ । राजधानी दैनिकबाट

Next Post

चट्याङ्ग लागेर पन्ध्र भेडाको मृत्यु

७ आश्विन २०७६, मंगलवार १०:२२
सदरलाइनडटकम, कैलाली : कैलालीको जानकी गाउँपालिका ९ कटासेमा चट्याङ्ग लागेर १५ भेडा मरेका छन् । मंगलवार बिहान पानीसँगै परेको चट्याङ्ग लागेर रुख मुनि ओत लागेर बसेका १५ भेडा मरेको अमरावती प्रहरी चौकीले जनाएको छ । जानकी गाउँपालिकाको ९ बक्लौवा शिविरका विपतराम चौधरीले जंगलमा चराउन लगेका भेडा पानी परेपछि कटासे पुल […]