वर्षाले नेपालगञ्जबाट हुने उडान प्रभावित

  
  प्रकाशित मितिः बुधबार, अशोज १, २०७६       | 164 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगञ्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् । बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गभ भेगका विमानस्थल गुणस्तरीय नभएकोले उडान प्रभावित भएको बताए । उनले दुर्गम जिल्लाका उडान प्रभावित भएपनि नेपालगञ्ज काठमाण्डौ र काठमाण्डौ नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए । नेपालगञ्ज क्षेत्रमा बुधवार बिहानैदेखि मुसलधारे वर्षा भएपनि बुद्ध, यती र श्री एयरलायन्सको नियमित उडान प्रभावित नभएको उनले बताए । दिउँसो श्री एयरलायन्सको विमान काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा आएर फर्किएको उनले बताए ।
मुसलधारे वर्षा भए पनि विमान उडान र अवतरणका लागि आवश्यक पर्ने पर्याप्त भिजिविलिटी भएका कारण उडानमा कुनै असर नपरेको कार्यालय प्रमुख ठाकुरले बताए । बुधवार बिहान ७ बजेबाट शुरु भएको वर्षा प्रतिघण्टा १८.७ मिलिमिटर (एमएम) परिरहेको जल तथा मौसम विज्ञान विभाग, नेपालगञ्जका फिल्ड इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । उनले दिनभर ६९.६ मिलिलिटर वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको बताए ।
अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरलाई वर्षा हुने महिनाको रूपमा लिइने गरेको बताउँदै उनले सबैभन्दा बढी जुलाई महिनामा वर्षा भएको जानकारी दिए। जुलाईमा ६६६.९ मिलिमिटर वर्षा भएको बताउँदै उनले जुन महिनामा २६९ एमएम वर्षा भएको बताए ।

प्रकाशित मितिः बुधबार, अशोज १, २०७६     4:18:41 PM  |