सुर्खेतमा छाडा पशुचौपायाको गणना शुरु

१ आश्विन २०७६, बुधबार १४:५८
 

सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतमा रहेका छाडा पशुको व्यवस्थापन गर्न गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा पशुको व्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा छाडा पशुको गणना शुरु गरेको हो । अहिलेसम्मको गणनामा १४२ छाडा पशु भेटिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको भेरी पुलदेखि बाङगेसिमल खण्डमा ८५ छाडा पशु भेटिएका पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक तथा कार्यदलका संयोजक डा. टङ्कप्रसाद प्रसाईंले जानकारी दिए । उनका अनुसार सुर्खेतको बाङ्गेसिमलदेखि रानीघाटसम्मको सडकखण्डमा ५७ गाई भेटिएका छन् । बाङ्गेसिमलदेखि रानीघाटसम्मको सडकखण्डमा भेटिएका अधिकांश गाई गौशालाभित्रका रहेका उहाँको भनाइ छ ।
सुर्खेतलगायत प्रदेशका अन्य ठाउँमा बेवारिसे रूपमा छाडिएका छाडा पशुको दीर्घकालीन व्यवस्थापन गर्न कार्यदलले छाडा पशुको गणना शुरु गरेको प्रसाईंले बताए । वीरेन्द्रनगर आसपासमा रहेका छाडा पशुको गणना गरेर व्यवस्थापनका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाइने उनले जानकारी दिए । वीरेन्द्रनगर–२ रानीघाटको गौशाला आसपासमा ५७ गाई भेटिए पनि रानीघाटमै भएको गौशालामा भने ८० देखि ९० जति गाई आउने गरेका स्थानीय देवीसरा विकले जानकारी दिए ।
छाडा पशुको उचित व्यवस्थापनका लागि व्यवस्थित गौशालाको निर्माण गर्नुपर्ने सुर्खेतका पशु अधिकारकर्मी कृष्ण ढकालले बताए । गौशालालाई व्यवस्थित गरेमा मात्र सुर्खेतमा भएका छाडा पशुको समस्या समाधान हुने उहाँले बताए । छाडा पशुको समस्यालाई अल्पकालीन र दीर्घकालीनरूपमा समस्या समाधान गर्न कार्यदलको प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । भदौ १२ गते राति सुर्खेत वीरेन्द्रनगर–१४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेवारिसे छाडिएका ३९ गाई मरेका थिए ।
नेपालगञ्जबाट ट्रकमा ल्याइएका २९१ गाईमध्ये ३९ गाई मरेका थिए भने २३३ गाई नेपालगञ्ज फिर्ता पठाइएको थियो । यो घटना घटेपछि मन्त्रालयले सुर्खेत तथा अन्य स्थानमा बेवारिसे छाडिएका छाडा पशुको उचित व्यवस्थापन गर्न सात सदस्यीय कार्यदल गठन गरेको थियो । समितिलतई १५ दिनभित्र आफ्नो रायसहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्न कार्यादेश दिइएको थियो ।

Next Post

वर्षाले नेपालगञ्जबाट हुने उडान प्रभावित

१ आश्विन २०७६, बुधबार १४:५८
सदरलाइनडटकम, नेपालगञ्ज : बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगञ्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् । बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गभ […]