काँग्रेसको जागरण र खजुरा घट्नाको वास्तविकता !

  
  प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६       | 3457 Views   ||

बाँके खजुरा गाउपालिका वडा नं. १ का भुवनसिंह थापा जो काँग्रेसकै कार्यकर्ता हुन अर्का काँग्रेस कार्यकर्ता असलम भाट जो वडा नं. ७ का बासिन्दा हुन । भुवनलाई आधार बनाएर अस्लमले भुवनले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल फेशवुकमा पोष्ट गरेको विषयमा भुवन र अस्लम उनीहरु २ जनाको विवादबाट प्रहरी चौकीमा २५ गते उजुरी पुगेपछि घटनाको सुरुवात भएको हो ।    नेपाली काँग्रेसले भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सीतापुर स्थित रेडक्रसको भवनमा जागरण अभियान संचालन गरेको थियो । केन्द्रीय प्रतिनिधि विद्या खनाल बोल्दाबोल्दै केही युवाहरु सो कार्यक्रममा प्रवेश गरी असलम भाटलाई खोज्छन् । असलम भाटले ती युवाहरुको भिडियो खिचिरहेका हुन्छन् । एकछिनमै होहल्ला शुरु हुन्छ तपाईहरु को हो हाम्रो कार्यक्रममा किन प्रवेश गर्नुभयो यसरी घुस्न पाइदैन । कार्यक्रम सकिन दिनुस कुरा गरौला भने पनि ती युवाहरुले हामीलाई तपाईहरुको कार्यक्रमसंग कुनै सम्बन्ध छैन ।
असलम भाटविरुद्ध राधापुर चौकीमा उजुरी परेको छ विहान ९ बजेदेखि छलफल थियो असलमले आउँछु भनेर आएन ४ घण्टासम्म नआउँदा हामी उसलाई लिन आएका हुँ भन्दै हुन्छन् हल्ला बढ्दै जान्छ । आक्रमण तथा एकले अर्कोलाई हात हाल्ने काम कतैबाट पनि भएको छैन । एक्कासी नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालालाई हातमा हिर्काएको भन्ने आवाज त्यहाँ सुनिन्छ । अनि असलम भाटले अझै चर्को स्वरमा सभापतिमाथि हातपात भयो भनेर जोडले कराउँदै भिडियो बनाउँदै हुन्छन् ।
वास्तवमा त्यहाँ कोहीले कसैलाई एक झापडसम्म पनि हानेको छैन । र, स्वयम् नेपाली काँग्रेसका कार्यकर्ता असलम भाटले सार्वजनिक गरेको भिडियोमा पनि आक्रमण भएको कही कतै देखिदैन । बरु देखिन्छ त किरण कोइरालाले मलाई यसरी हिर्काए भनेर जोडले आफ्नो दाइने हातले देब्रे हातमा हानेको देखिन्छ । त्यहाँ कुनै आक्रमण भएको छैन भन्ने कुराको पुष्टि त्यो भिडियोले नै गरेको छ । सोही घटनालाई ठूलो रुप दिँदै नेपाली काँग्रेस, बाँकेले किरण कोइरालाको हात भाँचियो, दर्जनौ कार्यकर्ता घाइते, सांघातिक आक्रमण भयो, नेकपाका कार्यकर्ता जो सरकारबाटै संचालित छन् । यो पार्टीमाथिको आक्रमण हो भनेर पत्रकार सम्मेलन गरेर नेपालगन्जमा सार्वजनिक गर्छ । र, यो घटना देश व्यापी भएको छ ।
कुनै पनि बहानामा अरुको शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरेर हो होल्ला गर्न पाइदैन । मुद्दा त्यति मात्र काफी थियो राजनीतिकरण गराउनलाई तर, यसमा भएको नभएको झुठा कुरा र भ्रामक कुरा गरेर जनतामा भ्रम छर्नु उचित हो होइन यसको वास्तविकतामा गएर गर्नेहरुले नै सोच्नु पर्छ । सांघातिक आक्रमण भएको र, १२÷१३ जना घाइते भने पछि त्यसको पुष्टि पनि त गर्नु पर्ने हो को को घाइते भए । चोट लागेको कहाँ छ । फेरी प्रहरी स्वयम घटनास्थलमा छ । कुनै पनि बाहानामा त्यहाँ घुस्न नहुने हो । उनीहरु घुसे गल्ती सोझै छ । यसमा कसैको दुई मत छैन । तर, जसरी नभएको आक्रमणलाई आक्रमण त्यो पनि सांघातिक भनेर अनर्गल प्रचार गरियो र, घटनालाई ठूलोरुप दिइएको छ यसले अगाडिका दिनमा कस्तो वातावरण बन्ला । जो कोही पनि वास्तविकता र सत्यमा जानु पर्छ । रह्यो सभापति किरण कोइरालाको हात भाँचिएको कुरा प्रहरीले नेपालगन्जसम्म ल्याएर छोडेको छ । त्यतिञ्जेल ठीक थियो भनिएको छ ।
यो कुरा स्वयम् काँग्रेसका ले पनि सब ठीक छ भनेपछि प्रहरी पनि ढुक्क भएर फर्किएको छ । एकै छिन्मा हातमा प्लाष्टर भएर आएर पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा सबैको मनोविज्ञान अर्कै बन्यो । एकै छिन अगाडि नेपाली काँग्रेसका कार्यकर्ताहरु पार्टी कार्यालय जो पुगेका थिए उनीहरुले घटनाको वास्तविकता बारे कुरा गरिरहेका थिए । यो वास्तवमा पार्टीगत कुनै कुरा होइन बसेर समाधान गर्नुपर्छ । एकछिन पछि सबै तँई चुप, मै चुप भएको अवस्था हो । भनाई यति मात्र हो कि भोली यसलाई ठूलो रुपमा दिन थियो भने सभापति किरण कोइरालाको मेडिकल चेकअप हुनु पथ्र्यो, अरु घाइते भनिएकाहरुको पनि हुनु पर्ने प्रहरीको निगरानीमा । किन गरिएन । किन भने अलि कति पनि कसैलाई कोतरिएको समेत छैन । तर, काँग्रेस भन्छ सांघातिक आक्रमण भयो । यो घटनाक्रम भयो ।
त्यसपछि के भयो
भदौ २६ गते साढे चार बजेको समयमा पत्रकार सम्मेलन पार्टी कार्यालयमा हुन्छ । संचार माध्यममा नेकपाका कार्यकर्ताको आक्रमणबाट बाँके सभापति किरण कोइरालाको हात भाँचियो । स्थानीय, राष्ट्रिय मिडिया मात्र होइन सामाजिक संजालमा पनि व्याप्त हुन्छ । त्यपछि ठूलो रुप अझै हुँदै जान्छ । भोलीपल्ट विहान नेकपा बाँकेका अध्यक्ष आइपी खरेल र अशोक कोइरालाले आफ्नै ढंगबाट सभापति कोइरालालाई भेटेर पार्टीको कुनै नीति नियत होइन गलत भयो भनेर भनेका छन् । फेरी विज्ञप्ती प्रकाशित गरेर दुईपार्टी वीचको सहकार्य अझै आवश्यक छ सहकार्यमै अगाडि जानुपर्छ । सभामा प्रवेश गरेको कुरा गलत हो भनेका छन् । प्रहरीले सभामा प्रवेश गरेको र होहल्ला मच्चाउने तीन जनालाई आवश्यक कारवाहीका लागि पक्राउ गरेको छ । अनुसन्धान गर्दैछ । काँग्रेस केही कुरालाई मान्दैन र भए नभएका मान्छेका नाममा मुद्दा दर्ता गराउन खोज्दैछ । यो मुद्दालाई देश व्यापी गराउने, संसद चल्न नदिने जस्तो कुरा गरिरहेको छ आन्दोलन गरिरहेको छ केन्द्रसम्म । वास्तविकतामा जाने कि नजाने । भुवनसिंह थापा जो काँग्रेसकै कार्यकर्ता हुन खजुरा गाउँपालिका–१ का र अर्का काँग्रेस कार्यकर्ता असलम भाट जो वडा नं. ७ का बासिन्दा हुन । उनीहरु २ जनाको लडाईमा मिसिएकार केही नेकपाका कार्यकर्तालाई मुद्दा लगाउने कुरा गरिरहँदा घटनाको वास्तविकतामा जान जरुरी हुन्छ भन्ने लाग्छ । प्रहरीको भूमिकालाई दोष दिएको देखिन्छ । प्रहरीलाई कार्यक्रमबारे औपचारिक रुपमा सुरक्षा माग गरिएको थिएन । तर, जब होहल्ला भयो । ठूलो घटना हुन सक्छ भनेर खजुराबाट त्यहाँ पुगेको प्रहरीले थप फोर्स मागेको छ भने जिल्लामा काँग्रेसका नेताले आफै फोन गरेर सुरक्षा दिन भनेका छन् । तत्काल प्रहरी पुगेको देखिन्छ ।
मानवअधिकारकर्मी र पत्रकारले घटनाको सुक्ष्म अध्ययन गर्न जरुरी
कुनै पनि घटना घट्नु आफैमा दुखद हो । तर, घट्ना भएपछि यसको वास्तविकता जबसम्म बाहिर आउँदैन । तबसम्म मानिसहरु भ्रममा हुन्छन् र, राम्रो नराम्रो क्रियाकलाप अगाडि बढाउन सक्छन् । तर, वास्तविकता जानेपछि सबै कुरा छर्लङ हुन्छ र पक्षविपक्षभन्दा पनि वास्तविकतामा मान्छे प्रवेश गर्छ र सही ट्रयाक लिन्छ । त्यसकारण यो घटना पनि वास्तविकताभन्दा बाहिर गएकाले निष्पक्ष, निडर भएर सत्य तत्य पत्ता लगाई बाहिर ल्याउन मानवअधिकारकर्मी र पत्रकारले आफ्नो भूमिका र दायित्वलाई बिर्सिनु हुँदैन ।
अन्त्यमा अर्काको सभामा पुगेर जसरी होहल्ला भयो । यसको नैतिक जिम्मेवारी नेकपाले लिएको छ । जुन उद्देश्यले गए पनि गलत थियो भनेर नेतृत्वले भेटेर, औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर र प्रेस विज्ञप्ती प्रकाशित गरेर भनिसकेको छ । त्यसकारण यसमा अल्झिरहन कदापी कसैका लागि पनि फाइदा छैन । हिजो लोकतन्त्रको स्थापना मात्र नभई संविधान जारी गर्न र हाल कानून निर्माण गरेर लागू गर्ने कुरा मात्र नभई नयाँ जो व्यवस्था यी पार्टी मिलेर ल्याएका हुन त्यसको संस्थागत गर्न सहकार्य जरुरी होला । देश बनाउन हिडेका पार्टीहरु वास्तविकता तोडमोड गरेर लड्न थाल्ने हो भने अर्को पक्षको प्रवेश निश्चित छ । यो मुद्दा राजनीतिकरण भइसकेकाले राजनीतिकरुपमै टुङ्याउँदा बेस होला । र, अहिलेसम्म जो जो ले जे गल्ती र कमजोरी गरे त्यो आत्मलाई नै साँक्षी राखेर आगामी दिनमा नदो¥याउन र घटनामा बास्तविक दोषि देखिएकालाई कानूनी दायरमा ल्याउदै कानूनी शासनको प्रत्याभूती गराउदै समग्र बाँकेको विकास र सभ्यतामा अगाडि रहेको खजुरा र खजुराबासीका लागि आपसी सहकार्य र समझदारीबाटै समाधान गरेर एउटा उदाहरण प्रस्तुत गर्न सबैले छाती ठूलो गर्नुपर्छ ।

प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६     7:06:06 PM  |