गुण्डागर्दी नरोकिए प्रतिकार गर्ने देउबाको चेतावनी

२८ भाद्र २०७६, शनिबार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले बाँकेमा काँग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने चेतावनी दिएका छन् । नेपाली काँग्रेस बाँकेले शनिवार नेपालगञ्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसदमा हंगामा गर्ने चेतावनी दिए ।
सभापति देउवाले शान्तिपूर्ण तरिकाले आफ्नो कार्यक्रम गरिरहेका बेला पार्टी सभापतिसहित अन्य नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय भएको बताए । जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको टिप्पणी गर्दै उनले जनताको करले पालिएको प्रहरी कुनै अमुक पार्टीको निर्देशनमा हिँडनु घोर आपत्तिजनक भएको जिकिर गरे । भ्रष्टाचारविरुद्ध बोल्दा काँग्रेस नेता कार्यकर्ता कुटिनु लज्जाको विषय भएको देउबाको टिप्पणी छ ।
भेटघाटमा केन्द्रीय सदस्य किशोरसिंह राठोरले कांग्रेसले यो घटनाको डटेर सामना गर्ने बताए । उनले सरकारले यो घटनालाई गम्भीरतापूर्वक नलिए देशैभर आन्दोलन गर्ने चेतावनी दिए । सरकारले लोकतान्त्रिक मूल्य मान्यतामाथि हमला गरिरहेको राठोरको भनाई छ ।
बाँके पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जनजागरण कार्यक्रमका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल, पूर्व जिल्ला पार्टी सभापति युवराज शर्मा, पूर्व सांसद् राजु खनाल, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, जिल्ला कार्यसमिति सदस्य माया पुनलगायतले खजुराको सीतापुरमा पार्टी सभापतिको हात भाँचिने गरी भएको घटनाका दोषीलाई कडा कारबाही नगरे कांग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।

Next Post

आफुलाई शुसासन अभियन्ता ठान्नेले जहाज भित्रै मन्त्रीमाथी आक्रमणको प्रयास

२८ भाद्र २०७६, शनिबार १८:२८
सदरलाइनडटकम, नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेका एक समूहले गालीगलौज र दुब्र्यवहार गरेको छ । उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचारसमेत गरेका छन । सामाजिक सञ्जाल र युट्युवमा […]