बिजुली नदिएपछि सहकारीमा तालाबन्दी

  
  प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६       | 71 Views   ||

सदरलाइनडटकम,
कैलाली : कैलालीको घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थामा बुधवार तालाबन्दी गरिएको छ । स्थानीयसँग रकम संकलन गरेको ८ वर्ष बितिसक्दा पनि बत्ती नबालेको भन्दै स्थानीयले सहकारी संस्थामा तालाबन्दी गरेका हुन् ।
घोडाघोडी नगरपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दाले पूर्व(पश्चिम राजमार्गसमेत केही बेर बन्द गरेका थिए । विद्युतिकरणका लागि घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाले २०६८ र २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ र ९ गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाउँपालिकाको वडा नं ८ बाट प्रति घरधुरीबाट १ हजार ५ सयदेखि ३ हजारसम्म रकम संकलन गरेको थियो ।
रकम संकलन गरेको ८ वर्ष बितिसक्दा पनि बिजुली उपलब्ध नगराएको भन्दै उनीहरूले आन्दोलन शुरु गरेका हुन् । एक साता पहिले ज्ञापनपत्र बुझाएका स्थानीयवासीले तोकिएको समयसम्म पनि समस्याको समाधान नभएको भन्दै तालाबन्दी र सडक अवरुद्ध पारेको बताएका छन् ।
घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाले जनमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग १८ महिनामा विद्युत् उपलब्ध गर्ने सम्झौता गरेको थियो । तर, नागरिकसँग रकम संकलन गरेको ८ वर्ष पूरा हुँदा पनि तीनवटा स्थानीय तहका ६ वटा वडाहरू विद्युतविहीन बनेका छन् ।

प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     4:54:52 PM  |