पत्रकारमाथि लगाइएको आरोपप्रति महासंघको आपत्ती

  
  प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६       | 117 Views   ||

सदरलाइनडटकम,
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जिल्लाका क्रियाशिल पत्रकारहरुको नामसहित जिल्ला प्रहरी कार्यालय दाङमा कारबाहीका लागि लेखेको पत्रबारे नेपाल पत्रकार महासंघ दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रमा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल माथि भदौ ११ गते भएको अभद्र व्यवहारका सन्दर्भमा जिल्लाका क्रियाशिल पत्रकारको संलग्नता भएको झुट्टो कुरा उल्लेख गरी कारवाही गर्नुपर्ने माग गरिएको छ ।
सो पत्रको सम्बन्धमा महासंघले कडारुपमा निन्दा गर्दै सचिव भुपेन्द्र वलीले विज्ञप्ती जारी गरेका छन् । प्रतिष्ठानका सुचना तथा सञ्चार अधिकृतसमेत रहेका निशानदाजु भट्टराईले सो पत्रबारे मंगलवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । प्रतिष्ठानबाट मासिक तलव बुझ्दै आएका भट्टराई यस अगाडी पत्रकार थिए ।
तर उनलाई पत्रकार महासंघ दाङले पत्रकार रहन अयोग्य ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर निश्कासन गरेको थियो । भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पत्रमा प्रतिष्ठानमा सो दिन रिपोर्टिङ्गका लागि पुगेका पत्रकारहरुको समेत नाम उल्लेख छ । नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तीमा प्रतिष्ठानका तर्फबाट संस्थागतरुपमा लगाइएको भुट्ठा आरोपको भत्र्सना गरिएको छ ।
‘यस विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाका सन्दर्भमा बुझदा प्रतिष्ठानका तर्फबाट पत्र आएपनि घटनामा पत्रकारहरुको संलग्नता नदेखिएकाले कुनै पनि प्रक्रिया अघि नबढाईने प्रतिबद्धता प्राप्त भएको जानकारी गराउँदछौं ।’ विज्ञप्तीमा भनिएको छ, ‘यद्यपी, समाचार लेखेकै भरमा पत्रकार माथि पूर्वाग्रह राखेर प्रतिष्ठानका तर्फबाट गरिएको यस्तो गलत हर्कतले हतोत्साहित नहुन आम सञ्चारकर्मीहरुलाई आग्रह गर्दछौँ ।’
विज्ञप्तीमा पत्र लेख्ने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेर सञ्चारकर्मीहरुको सामाजिक तथा पेशागत मर्यादामा आँच पुर्याउन खोज्ने प्रतिष्ठानका पदाधिकारी र कर्मचारी निशानदाजु भट्टराई माथि कडा कारवाहीको सम्बन्धित निकाय समक्ष माग गरिएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विपरितका यस्ता गलत क्रियाकलापविरुद्ध महासंघ कडारुपमा उत्रिने जानकारी गराउँदै प्रतिष्ठानको निन्दनीय कार्यविरुद्ध उभिन जिल्लाका आम सञ्चारकर्मी, पेशागत संघसंगठनलगायत जनसमुदायमा आह्वान गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     6:18:53 PM  |