गुठी जग्गा छानबीनमा जुट्यो आयोग

  
  प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       | 44 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोगले नेपालगञ्जको बागेश्वरी मन्दिर गुठीको नाममा भएको जग्गा बिक्रि बितरण भएको विषयमा स्थलगत अनूगमन गरी जानकारी लिएको छ ।
आयोगका सदस्य जगत देउजा र कानून अधिकृत जनक पोख्रेल सहितको टोलीले तीन दिनसम्म नेपालगञ्जमा रहेर आयोगको टोलीले बिक्रि वितरण भएको जग्गाको स्थलगत अनूगमन गरि जानकारी लिएको, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट आवश्यक कागजात लिएको, नागरिक समाजसँगै विभिन्न क्षेत्रका ब्यक्तिहरुसँग अन्तरक्रिया गरिएको जनाएको छ ।
आयोगले प्रक्रिया पुर्याएर बिक्रि वितरण भएको भए फिर्ता ल्याउन गाह्रो हुने जनाएको छ । आयोगले २०४४ सालमा बागेश्वरीको चल अचल सम्पत्ति बारे जिल्ला पाञ्चायतलाई लेखिएको पत्र समेत प्राप्त गरेको छ । बागेश्वरीको जग्गा २०२७ सालमा विक्रि भएको निर्णय भने आयोगको टोलीले फेला नपरेको जनाएको छ ।
आयोगले १९५० सालको लालमोहरसमेत फेला पारेको छ । मालपोतको तथ्यांकअनुसार नेपालगञ्ज, जानकी गाउँपालिकाको साविक इन्द्रपुर ३ (क) र खजुरामा करिब एकसय बिघा जग्गा रहेकोमा इन्द्रपुर ३(क)को सबै ८४ विघा जग्गा बिक्रि वितरण भएको पाइएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     6:27:08 PM  |