विद्यालय जान हिडेकी छात्रामाथि एसिड प्रहार

  
  प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       | 64 Views   ||

सदरलाइनडटकम,
वीरगञ्ज :  वीरगञ्ज महानगरपालिकामा विद्यालय जाने क्रममा एक छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीमा रहेको त्रिभुवन हनुमान उमावि कक्षा ९ मा अध्ययनरत बीरगन्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।
शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् ।
एसिड प्रहार गर्दा खातुन गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मुखमै एसिड प्रहार गरेको बुझिएको छ ।
एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया र मक्सेद आलम रहेको पर्साका डिएसपी अनन्तराम शर्माले जानकारी दिए । सम्साद प्रहरी नियन्त्रणमा रहेका छन् भने सहयोगी मक्सेद फरार भएको र प्रहरीले उनको खोजी गरि रहेको जनाएको छ ।
सो घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने–‘आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’
विद्यालय पोशाकमैै रहेको अवस्थामा मुसकानमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल र्पुयाएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     12:03:37 PM  |