५० वर्षदेखि बस्दै आएको सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक

११ भाद्र २०७६, बुधबार १५:३७
 

रुद्र सुवेदी ,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरको आलानगरका २५० घरधुरी सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक फैलिएको छ । पाँच दशकदेखि जोतभोग गर्दै आएको जमिनमा भूमाफियाको चलखेलका कारण दिनहुँ जसो नयाँ–नयाँ व्यक्ति अस्थायी पुर्जा लिएर जमिन खोज्दै आउन थालेपछि ५० वर्षदेखि जोतभोग गर्दै आएका स्थानीय किसान आतंकित हुन थालेका छन् ।
२०२६ सालदेखि २९ कट्ठा जमिन जोतभोग गर्दै आएका ७१ वर्षीय मीनप्रसाद पुनले हरेक दिनजसो नयाँ–नयाँ मान्छे हातमा नक्सा र लालपुर्जा लिएर आउँदा आफू आतंकित भएको बताए । उनले भने, ‘पटक–पटक सुकुम्बासी समस्या समाधान आयोग गठन भए पनि भनसुन गरिदिने र आयोगका मान्छेलाई खुसी बनाउन नसक्दा अहिलेसम्म लालपुर्जा छैन । ५० वर्षदेखि जंगल फाँडेर जोतभोग गर्दै आएको जग्गाको लालपुर्जाको मुखै नदेखी मर्ने भएँ । अहिले जग्गा नै अरूले लैजान आँटेको सुन्दै छु ।’
२०६६ सालमा जग्गा नापी हुँदा स्थानीय सुष्मा पुनले १८ महिनाको काखे नानी च्यापेर दौडधूप गरिन् । २० कट्ठा जमिनमा दुई दशकदेखि खेती गर्दै आएको दाबी गर्ने उनले भनिन्, ‘घरधुरी तिर्न पैसा पुगेन । त्यसैले लालपुर्जा बनाउनै सकिनँ । गरिबको जमिन हुँदा नि सुख छैन, नहुँदा नि सुख छैन ।’
त्यतिबेला १५२ वटा सेता ९अस्थायी० पुर्जा वितरण गरिएकोमा अधिकांश गैरसुकुम्बासीले पाएको उनको दाबी छ । ‘वास्तविक सुकुम्बासीले पुर्जा पाएकै छैनौं,’ उनले भनिन्, ‘यहाँका झन्डै ८० घर लालपुर्जाविहीन छन् । ती सबै अहिले भूमाफियाको चंगुलमा परेका छन् ।’
सोही ठाँउका कुलबहादुर वंशी मगरले आफ्नो जग्गा दुई कित्ता काटेर अर्कैले लगेको बताए । दलबहादुर थापा मगरले पनि पाँच कट्ठा पाँच धुर जमिन भोगचलन गर्दै आएकोमा दुई कट्ठा पाँच धुर अरूकै नाममा कित्ताकाट गरिसकेको उनको भनाइ छ । नापी शाखामा बुझ्दा हेमलाल पौडेलको नाममा कित्ताकाट गरेको देखिएको उनी बताउँछन् । उनीसँग तीन कट्ठा जमिनको अस्थायी पुर्जा छ । ‘अस्थायी पुर्जा भएर के गर्नु रु स्थायी अरूले बनाउँदै छन्,’ उनले भने, ‘सरकारले छिट्टै छानबिन गरिदिए हामी सुकुम्बासीको आशीर्वाद लाग्थ्यो ।’
सोही ठाउँका आइतबहादुर दमाईले १६ कट्ठा जमिन जोतभोग गर्दै आएको पाँच दशक भयो । यस अवधिमा सुकुम्बासी आयोगले पटकपटक बस्तीमा बसोबास गर्नेमाथि छानबिन गरी लालपुर्जा वितरण गरे पनि उनी कहिलै सुकुम्बासीको सूचीमा परेनन् ।
त्यही जमिनमा खेतीपाती गरेर जीवन चलाइरहेका उनलाई अहिले ठूलो चिन्ता छ । घर रहेको र खेतीपाती गर्ने उनको जमिन भूमाफियाले कित्ताकाट गरेर बिक्री गरिसके ।
नेपालगन्ज–१९ को आलानगरमा २५० परिवार भूमिहीनको बसोबास छ । स्थानीयले २०२६ सालदेखि ऐलानी जमिन जोतभोग गरिरहेका अधिकांशले लालपुर्जा पाएका छैनन् । उनीहरू बसोबास गरिरहेको जग्गा बिक्री गर्न भूमाफियाले चलखेल गरिरहेका छन् । ऋाफ्नो नाममा जग्गा दर्ता गर्न विभिन्न व्यक्ति सक्रिय छन् ।
आइतबहादुरले भोगचलन गरिरहेको १६ कट्ठा जमिन सात जनाले मिलेर कित्ताकाट गरेर लालपुर्जा निकाल्ने तयारी गरिरहेको पाइएको छ । आइतबहादुरको नाममा ‘१९१’ र ‘१८९’ गरी दुई कित्ता छन् । ती दुई कित्ता शान्ति पौडेल, फूलमाया यादव, भगवती यादव, नृप कुँवर, कृष्णबहादुर कार्की, जितमाया सलामी, बाटुलादेवी पौडेल र खगेन्द्र बुढाको नममा टुक्राएको देखिन्छ । ‘घर भएको जमिनको समेत कित्ताकाट गरिएको छ, मलाई थाहै छैन,’ आइतबहादुरले भने, ‘किन्ने को हुन, बेच्ने को हुन्, केही थाहा छैन ।’
केही व्यक्तिले अस्थायी लालपुर्जासमेत पाएका छन् । स्थायी पुर्जाका लागि स्रेस्ता कायम गर्ने प्रक्रियामा मालपोत पुगेपछि जमिन गुम्न लागेको जानकारी पाएको आइतबहादुरले बताए । मालपोतमा स्रेस्ता कायम गरिपाऊँ भन्दै २५ जनाले निवेदन दिएका छन् ।
कमला केसी, चन्द्रबहादुर राई, दानबहादुर, भूमिसरा पुरी, रिमा शाही, पूर्णकला घर्ती मगर, यामबहादुर पुन, पवित्रा थापा क्षेत्री, दलबहादुर केसी, भगवती मल्ल, फूलमाया देवी, लालबहादुर राई, तारा राई, भक्तबहादुर शाही, हर्कबहादुर शाही, टीकामाया कार्की, भूमाकुमारी कार्की, नरसिंह घर्ती, पञ्चकली घर्ती, चन्दुबहादुर मल्ल, पार्वती कार्की, दलबहादुर खडका, मनमाली घर्ती मगरलगायतले लालपुर्जा स्रेस्ताको लागि निवेदन दिएका हुन् ।
२०५२ सालदेखि एक बिघा जमिन भोगचलन गर्दै आएका स्थानीय टेकराज केसीले आफ्नो १९ कट्ठा जमिनमा भूमाफियाले कित्ताकाट गराइसकेको गुनासो गरे । गाउँमा देख्दै नदेखेको र चिन्दै नचिनेका व्यक्तिले जमिन खोस्न लागेको उनको दाबी छ । उनको जग्गामा भगवती यादव, बाटलादेवी पौडेल्नी, खगेन्द्र बुढा ९दाङ०ले कित्ताकाट गरेको उनले सुनाए । खगेन्द्रले उनले घरबारीसहित नामसारी गर्ने तयारी गरेको केसीले बताए ।
भूमिहीन किसानको हैसियतले बसोबास गर्दै आएका उनीहरूलाई २०५९ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले छानबिन गरेर परिचयपत्र दिएको छ । यसअनुरूप नापी सर्भेले कित्ताकाट गरेर उनीहरूको जमिन छुट्याएको नक्सासमेत छ । २०६७ सालमा गठित सुकुम्बासी समस्या समाधान आयोगले उनीहरू बसेको स्थान छानबिन गरी सुकुम्बासी प्रयोजनका लागि सूचनासमेत प्रकाशन गरेको थियो । तर सरकार छिट्टै परिवर्तन हुने र सुकुम्बासी आयोगसमेत सरकार परिवर्तनसँगै विघटन हुने भएकाले बाँकी जग्गा दर्ता प्रक्रिया अघि बढ्न नसक्दा समस्यामा परेको केसीले बताए ।
भोगचलन गर्दै आएको जमिनको अरूले नै लालपुर्जा निकाल्न लागेको थाहा पाएपछि पीडितले अहिले जिल्ला प्रशासनमा न्यायका लागि निवेदन दिएका छन् ।
‘पुरानो मितिमा गरेको निर्णयमा क्रम संख्या तथा नाम तलमाथि पार्दै टिपेक्स लगाएर नया अस्थायी पुर्जा निकाली स्रेस्ता कायम गराउन षडयन्त्र भएको छ,’ पीडित स्थानीयले एकै स्वरमा भने, ‘भुमाफिया र मालपोतबाट चलखेल सुरु भएको छ । हामीलाई न्याय दिने गरी पहल गरिदिनुप¥यो ।’
यसैबीच अस्थायी लालपुर्जा पाएकाले लालपुर्जा प्रमाणपत्र बनाउन निवेदन दिएको मालपोत प्रमुख प्रेमबहादुर दौल्यालले बताए । उनीहरूको निवेदन गर्ता गरेर फाइल राखिए पनि अहिले विवाद आएपछि छानबिन नगरी काम अघि नबढाउने निर्णय भएको उनले सुनाए । यसका लागि सुकुम्बासी आयोग गठनपछि पुनः छानबिन गरेर मात्रै समस्या समाधान हुने उनको भनाइ छ । उनले भने, ‘त्यतिबेला अस्थायी पुर्जा वितरण गरिए पनि स्रेस्ता कायम नगरेको कारण समस्या आएको हो । अब एकीकृत बस्ती विकास गरी छानबिन गरेर मात्र पुर्जा वितरण गरिनेछ ।’ राजधानी दैनिकबाट

Next Post

मृगौला पीडितलाई वडाध्यक्ष बेहनाको सहयोग

११ भाद्र २०७६, बुधबार १५:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पैसाको अभावले उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि आफूले बुधवार दर्जीका आफन्तलाई […]