आकर्षणको केन्द्र बन्दै थारु संग्रहालय

  
  प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६       | 38 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : थारु जातिको इतिहास, रहनसहन, भेषभूषा, गरगहना, देवीदेउतालगायतको अध्ययन, अनुसन्धान गर्न दाङको दंगीशरण गाउँपालिका–३, चखौरामा संग्रहालय स्थापना गरिएको छ । दंगीशरण राजा, पाँच प्रगन्नासहित थारु जातिको सम्पूर्ण पौराणिक संस्कृति, रहनसहन, भेषभूषा, परम्परागत रीतिरिवाज झल्किने गरी थारु संग्रहालय स्थापना गरिएको हो ।
लोप हुन लागेको थारु संस्कृति, संस्कार र परम्पराको जानकारी एउटै थलोबाट दिने उद्देश्यले चखौरामा संग्रहालय स्थापना गरिएको प्रदेश ५ का सांसद डिल्लीबहादुर चौधरीले बताए । संग्रहालयमा थारु जातिले प्रयोग गर्ने पौराणिक भाँडावर्तनदेखि गरगहनासम्म र जन्मदेखि मृत्युसम्मका संस्कार झल्किने सामान राखिएको छ । थारु जातिको भान्सा, घरका कोठा, डिउह्रार (देवता भएको कोठा), भान्सामा प्रयोग हुने सामग्री, कपडा, परम्परागत शैलीमा लुगा राख्ने भौँका, भौँकी, चिक्ठीमा छिट्नी, अँट्वामा मकै, दुना, टपरी झुन्ड्याएर राखिएका छन् ।
थारु जातिले पूजा गर्ने देवता, भुइँह्यार थान, पौराणिक कथामा आधारित किच्किनी, मानव श्रृष्टिको कथामा आधारित डहरचण्डी, पाँच पाण्डवको प्रतीक समेत संग्रहालयमा राखिएको छ । संग्रहालयमा थारु जातिले संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज र खानपिन तथा थारु राजा दंगीशरणको ऐतिहासिकता झल्काउने सामग्री संग्रहालयमा राखिएको सांसद डिल्लीबहादुर चौधरीले बताए । दाङमा राजकाज गरेको भनिएका दंगीशरणको ऐतिहासिक पृष्ठभूमिसहित उनको प्रतिमूर्ति पनि संग्रहालयमा राखिएको छ । दंगीशरण इतिहाससहित उनले राज्य गरेको इतिहासको जानकारी पाउने व्यवस्था संग्रहालयमा गरिएको छ ।
संग्रहालयमा दाङका पाँच प्रगन्नाको मूर्ति समेत हेर्न सकिन्छ । घनपट गुर्वावाका चार छोरामध्ये एउटा छोरालाई पछला प्रगन्ना, अर्कोलाई पाटु, अर्को छोरालाई छिल्ली, सवारी र अघला प्रगन्ना गरि बाँडेको र आफूले एउटा प्रगन्ना राखेको भन्ने इतिहासअनुसार घटनपट गुर्वावासहित उनका चार वटा छोराको प्रतिमूर्ति राखिएको संग्रहालय निर्माण समितिका संयोजक राजेश चौधरीले जानकारी दिए ।
संग्रहालयमा आउने पर्यटक तथा अवलोकनकर्तालाई बुलबुलिया ताल घुम्ने व्यवस्था समेत मिलाइएको छ । संग्रहालयमा डंगौरा थारुका साथै देसाउरी थारु र राना थारुका प्रतीक स्वरुप मूर्तिका साथै डंगौरा, देसाउरी र राना थारुले लगाउने गहना, लुगाकपडा पनि अवलोकनका लागि राखिएको छ । संग्रहालय भएको घरको भित्ता तथा ढोकामा चराचुरुङ्गी, घरपालुवा एवं जंगली जनावर, देवीदेवताको प्रतीक चिन्ह बनाइएको छ ।
प्रदेश ५ सरकारले ६५ लाख रुपैयाँ लगानी गरी स्थापना गरिएको संग्रहालय उद्घाटन नहुँदै अवलोकन गर्न आउन थालेको संग्रहालयका निर्देशक श्रमलाल चौधरीले बताए ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     2:55:57 PM  |