सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका मुस्लिम समुदायका गरीब असहाय, विपन्न तथा अनाथ बालबालिकाहरुलाई दोस्रो किस्ताअन्तर्गत छात्रबृत्ति रकम हस्तान्तरण गरिएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले बालबालिका, शिक्षक र परिवारलाई आइतवार एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो ।
बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकालाई छात्रबृत्ति सहयोग, ५ जना शिक्षकको पारिश्रमिक र १ जना परिवारलाई सहायता सहयोग गरि ५१ जनालाई सहयोग उपलब्ध गराइएको युनेस्को क्लबका अध्यक्ष प्रबेजअलि सिद्दिकीले बताए । उनका अनुसार नगद सहयोगमा १५ हजारदेखि ३५ हजारसम्मको चेक रहेको छ ।
कार्यक्रममा कतार च्यारेटीका संरक्षण अधिकृत जियाउल रहमान खा, क्लबका सल्लाहकार राकेशकुमार मिश्र, वित्त तथा प्रशासन प्रमुख बेदप्रकाश पंगाली, र आइडियल पब्लिक स्कुलका प्रिन्सीपल इलियास अन्सारीले ती बालबालिकाहरुलाई चेक प्रदान गरेका थिए । सो अवसरमा सहभागि बालबालिकाहरुलाई स्वास्थ्य शिक्षाबारे समेत जानकारी दिइएको थियो ।
