दैलेखमा सामूहिक रक्षाबन्धन कार्यक्रम

  
  प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६       | 56 Views   ||

सदरलाइनडटकम,
दैलेख : दैलेखमा सामूहिक रक्षाबन्धनको कार्यक्रम सम्पन्न भएको छ । पहिले दलित भने रक्षाबन्धन नबाँधिदिएको भएपनि यसपटक केही पण्डितहरुले दलितलाई पनि रक्षाबन्धनको डोरो बाँधिदिएका छन् ।
दलित नागरिक समाजको आग्रहमा दुल्लू नगरपालिका–३, नेपाका ज्ञानमणि नेपाल र दुल्लू नगरपालिका–८ वडलम्जीका कृष्णप्रसाद उपाध्यायले दैलेख सदरमुकाम र दुल्लूमा बिहीवार दलितहरु समेतलाई सहभागी गराइ सामूहिक रक्षाबन्धन कार्यक्रम गरेका हुन् ।
पुरातन सोंच भएका पण्डितहरुले दलितहरुलाई विभेद गर्दै आएको भन्ने गुनासो आएको कारण आफूहरुले स्वतःस्फूर्त रुपमा सामूहिक रक्षाबन्धन बाँधिदिएको पण्डित कृष्णप्रसाद उपाध्यायले बताए ।
अर्का पण्डित ज्ञानमणि नेपालले २०५५ सालमा यस्तै गरी पहिलो पटक सामूहिक रक्षाबन्धन गराएका थिए । यो वर्षसम्म पनि दैलेखमा पण्डितहरुले नाग पञ्चमीमा नाग टाँस्न, रक्षाबन्धनमा धागो बाँध्न समेत इन्कार गर्दै आएका सुनेपछि यो पटक फेरि यो कार्यक्रम गर्न सघाएको उनले टिप्पणी गरे ।

प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६     7:03:36 PM  |