भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

  
  प्रकाशित मितिः बुधबार, साउन २२, २०७६       | 95 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ । हृदयाघातका कारण अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलवार राती निधन भएको छ । ६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन् । स्वराज लामो समयदेखि बिरामी थिइन् ।
सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन् । उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन् । भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन् । अम्बाला छावनीमा जन्मेकी स्वराजले एसडी कलेजबाट स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट कानूनको डिग्री लिएकी थिइन् ।
पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन् । पछि उनी राजनीतिमा जोडिइन् । त्यो बेला उनी २५ वर्षकी थिइन् । स्वराजले लालकृष्ण आडवाणीलाई आफ्नो राजनीतिक गुरु मानेकी थिइन् । स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन् । चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन् ।
उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सांसद भइसकेकी छन् । उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन् । मोदीले दुःख व्यक्त गर्दै स्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन् भन्दै ट्विट गरेका छन् ।

प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     5:24:55 PM  |