सदरलाइनडटकम,
कैलाली : कैलालीको टिकापुर नगरपालिकास्थित मालपोत कार्यालयका दुई जना कर्मचारी घुसको रकमसहित पक्राउ परेका छन् । आइतवार बेलुकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसको रकम लिँदै गरेका बेला मालपोत कार्यालयका नायव सुव्वा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेयलाई पक्राउ गरेको हो ।
स्टिङ अप्रेसन गरी दुवै जनालाई घुसको आठ हजार नगदसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसनधान कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर बिष्टले बताए । आयोग कञ्चनपुरको टोलीले दुवै जनालाई लम्की चुहा नगरपालिका ३ व्यवस्थित नगरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई सोमवार थप अनुसन्धानका लागि काठमाण्डौ लगिएको छ । आब २०७५/०७६ को असार मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले कैलाली कञ्चनपुरमा सातवटा स्टिङ अप्रेसन गरी ३१ जनालाई घुषको रकम सहित पक्राउ गरेको छ ।
