सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन

  
  प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६       | 68 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै मंगलवार नेपालगञ्जमा चक्काजाम गरिएको छ । मधेशी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् ।
२० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जनाएका छन् । उनीहरुले आफूहरुको माग पूरा गराउनुपर्ने माग गर्दै चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीय शान्ति यादवले मधेशी समुदायमा छोरीलाई २० वर्षसम्म घरमा राख्न समस्या हुने भएका कारण उमेरहद घटाएर १६ वर्ष हुनुपर्ने आफूहरुको माग रहेको बताइन् ।
२०७५ साल भदौ १ देखि लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । संहिताको परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३ ले २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।
अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो । तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठिक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्ने उमेर अबदेखि २० वर्ष राखिएको हो । यदि २० वर्षअघि बिहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ ।

प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     6:25:49 PM  |