सदरलाइनडटकम,
काठमाण्डौ : विश्व हिन्दु संघ र वल्र्ड हिन्दु फेडरेशनको संयुक्त आयोजना शनिवारदेखि काठमाण्डौमा शुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा. सुब्रमनियम स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने माग राखेका छन् ।
केही घन्टाका लागि मात्र काठमाण्डौ आएका डा. स्वामीले गोष्ठीमा आफ्नो ‘किनोट’ मन्तव्यलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । अन्तर्राष्ट्रिय गोष्ठीका प्रमुख वक्ता डा. स्वामीले नेपालको इतिहाससँगै उसको भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए ।
डा. स्वामीले दिल्ली फर्कनुपूर्व प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटी सरसल्लाह गरेका थिए । यद्यपि भेटका अवसरका नेपाल हिन्दु राष्ट्र हुनुपर्ने आफ्नो माग उनले उठाए वा उठाएनन् त्यो स्पष्ट हुन सकेको छैन ।
उक्त अन्तर्राष्ट्रिय हिन्दु गोष्ठीमै सहभागी हुन काठमाण्डौ आएका भाजपाकै अर्का नेता तथा पूर्वसांसद तरुण विजयले पनि प्रधानमन्त्री ओलीसँग अलग्गै भेट गरेका थिए । तरुण विजय पनि प्रखर हिन्दुवादी नेता हुन् भने उनी पनि नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा छन् ।