सदरलाइनडटकम,
काठमाण्डौ : भारतले सफलताका साथ चन्द्रयान–२ को प्रक्षेपण गरेको छ । चन्द्रमामा यान पठाउने महत्वाकांक्षी परियोजना अन्तरगत इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ) ले निर्माण गरेको उक्त यान सोमवार दिउँसो ३ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो ।
गतसातानै गर्ने भनिएको उक्त प्रक्षेपण यानको इञ्जिनमा खराबी देखिएपछि एकसाताका लागि सारिएको थियो । आइएसआरओको कन्ट्रोल रुमबाट २ सय ५० जना वैज्ञानिकले यो मिशनको निगरानी गरिरहेका छन् ।
जिएसएलभी–एमके–३ नामक रकेटमार्फत् प्रक्षेपण गरिएको उक्त यान आउँदो सेप्टेम्बर महिनाको पहिलो साता चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवमा पानी र जीव भेटिनसक्ने अनुमान गरिँदै आएको छ ।
चन्द्रयान–२ का पाँच रोचक तथ्य :
१. भारतका लागि यो दोस्रो चन्द्र मिशन हो । चन्द्रमाको सतहमा मानव पाइला परेको अभूतपूर्व घटनाको ५० औं वार्षिकोत्सव मनाइँदै गर्दा भारतले चन्द्रयान–२ को प्रक्षेपण गरेको हो। निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेको गत शनिवार ५० वर्ष पुग्यो ।
२. भारतको पहिलो मार्स सेटेलाइटको लागत स्पेस विज्ञानमा आधारित चलचित्र ‘ग्र्याभिटी’ को कूल लागतभन्दा कम थियो । चन्द्रयान–२ को लागत १४.१ करोड अमेरिकी डलर हो, जुन अमेरिकाको अपोलो मिशनभन्दा २५ अर्ब डलरले कम हो ।
३. भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ प्रक्षेपण गरेको थियो। उक्त मिशनले चन्द्रमामा पानीको खोज गर्ने लक्ष्य राखेको थियो । उसले चन्द्रमाको कक्षमा ३ सय १२ दिन बिताएको थियो । चन्द्रयान–२ को लक्ष्य पानी र जीवको सम्भावनाबारे अध्ययन गर्नु हुनेछ ।
४. पृथ्वी र चन्द्रमाको औसत दुरी ३,८४,००० किलोमिटर छ । चन्द्रयान–२ आजको ४८ दिनपछि चन्द्रमामा अवतरण गर्नेछ। साढे ९ सय किलोमिटर प्रतिसेकेन्डको गतिमा रहेको चन्द्रयान २ ले चन्द्रमा र पृथ्वीबीचको ३ लाख ८४ लाख किलोमिटरको दुरी पुरा गर्न आगामी अगस्ट १३ सम्म लगाउने छ ।
५. चन्द्रयान २ को प्रक्षेपणले भारतको अन्तरिक्ष मिशनप्रति बढ्दो महत्वाकांक्षालाई दर्शाउँछ । अन्तरिक्ष मिशन प्रधानमन्त्री नरेन्द्र मोदीको खास प्राथमिकतामा परेको क्षेत्र हो । भारतले इतिहासमै पहिलोपटक चन्द्रमाको सतहमा यान पठाउने योजना बनाएको हो । यो मिशन सफल भएमा यो भारतको लागि निकै ठूलो उपलब्धि हुनेछ । चन्द्रयान टु को यात्रा यसले अगस्ट १३ सम्म पृथ्वीको चारै दिशाको चक्कर लगाउनेछ । यसपछि अगस्त १३ देखि १९ सम्म चन्द्रमातर्फ जाने लामो कक्षमा यात्रा गर्नेछ ।
अगस्ट १९ मा नै चन्द्रमाको कक्षमा पुग्ने र १३ दिन अर्थात् अगस्ट ३१ सम्म चन्द्रमाको चारै दिशामा घुम्नेछ । त्यसपछि सेप्टेम्बर १ मा विक्रम ल्यान्डर आर्बिटरबाट छुट्ठिनेछ र चन्द्रमा दक्षिणी ध्रवतर्फ अघि बढ्नेछ । पाँच दिनको यात्रापछि सेप्टेम्बर ६ मा विक्रम ल्यान्ड चन्द्रामको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । त्यसको ४ घण्टापछि रोवर प्रज्ञान ल्यान्डरबाट निस्केर चन्द्रमाको सतहमा विभिन्न प्रयोगका लागि ओर्लनेछ ।
भारतको दोस्रो महत्वकांक्षी चन्द्रमिशन चन्द्रयान १ को खोजीलाई अगाडी बढाउन भारतले चार टन क्षमताको एउटा लूनर आर्बिटर, ल्यान्डर र रोबर रहेको चन्द्रयान पठाएको हो । सन् २०२२ मा चन्द्रमामा अन्तरिक्षयात्री पठाउन चन्द्रयान २ मिशन निक्कै महत्वपूर्ण रहेको इसरोले जनाएको छ । नासाले एपोलो इलेभेनको चन्द्रमा मिशन पुरा गरेको ५० औं बर्षगाँठ मनाइरहँदा भारतले चन्द्रयान २ पठाएर अर्को इतिहास रच्ने प्रयास गरेको छ ।
चन्द्रमाको सतहमा अवतरण र त्यहाँ पुग्ने देशहरुमा संलग्न हुनु यो मिशनको उद्देश्य रहेको छ । अझ भन्दा चन्द्रयान २ चन्द्रमाको सतहमा उत्रने भारतको पहिलो प्रयास हो । यसअघि रुस, अमेरीका र चीनले चन्द्रमाको सतहमा चक्कर लगाइसकेका छन् ।
(एजेन्सी)