परिक्षार्थीको बास खोज्दै सीडीओ र डीएसपी

  
  प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६       | 104 Views   ||

सदरलाइनडटकम,
डोटी : लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पद र तहको परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थी बस्ने ठाउँ नपाएर अलपत्र परेका छन् । उनीहरुले बस्ने ठाउँ नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल तथा डीएसपी लालबहादुर धामी परीक्षार्थीको बास खोज्न आफैँ खटिएका छन् ।
लोक सेवाको परीक्षा दिनका लागि ६ हजारभन्दा बढी परीक्षार्थी डोटीमा पुगेका छन् । उनीहरुलाई बस्नका लागि डोटीमा होटल अभाव भएपछि बास बस्ने व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारी आफैँ खटेका छन् । अलपत्र परेका केही परिक्षार्थीलाई यहाँका खाली रहेका विभिन्न सरकारी कार्यालय संघ–संस्थाका कार्यालयहरुमा बस्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीसहितको टोलीले जिल्लाको राजपुर, पिपल्ला, एयरपोर्ट र सिलगढीका विभिन्न स्थानहरूमा अनुगमन गर्नुका साथै परीक्षार्थीको बसाई व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्दै आफैँ खटे । त्यस्तै, परीक्षार्थीको बासको व्यवस्थापनमा दिपायल सिलगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, डोटी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत सबैले सहयोग गरिरहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६     2:39:32 PM  |