नेपालगञ्जमा एकै पटक नौ वटा पसलमा चोरी

  
  प्रकाशित मितिः आइतवार, असार २९, २०७६       | 50 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा एकै रातमा ९ वटा पसलमा चोरी भएको छ । चोरी गर्ने गिरोहले शनिवार राती प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी गरेको छ ।
बाँके प्रहरी प्रमुख वीर बहादुर वलीका अनुसार, तीन किराना पसलबाट झण्डै एक लाख नगद र मोबाइल रिचार्ज कार्ड चोरी भएको खुल्न आएको छ । दुईदुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ । जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन् । शहरमा चोरीका घटना बढेपछि शनिवार साँझमात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए ।
शनिवार राती एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एशोसिएशनका अध्यक्ष चिरञ्जीवी वलीले बताए । एशोसिएशनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, बीपी चोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसीटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका छन् ।

प्रकाशित मितिः आइतवार, असार २९, २०७६     6:20:28 PM  |