लागातार झरीका कारण बाँकेका किसान चिन्तित

  
  प्रकाशित मितिः आइतवार, असार २९, २०७६       | 28 Views   ||

सदरलाइनडटकम,
यदुराज मिश्र/डुडुवा (बाँके) : अविरल बर्षातका कारण बाँकेका कृषक चिन्तित भएका छन् । लगातार पानी परिरहेकाले धान रोपाई गर्न नपाएर कृषक चिन्तित छन् भने मकै बाली भित्र्याएपछि धान रोपाईं गर्ने किसान थप चिन्तामा पिरोलिएका छन् ।
पाक्नै लागेको मकै भित्र्याउने बेलामा लागातार वर्षात भईरहेकोले खेतमै कुहिन थालेको डुडुवा गाउँपालिका वडा नं. ६ का सदस्य एवं कृषक नेतराम मौर्यले बताए । मकै थन्क्याएर सोही जग्गामा धान रोप्नु पर्ने भएकोले लगातार झरीका कारण रोपाईं पनि ढिलो हुँदै गएको उनले बताए ।
बाँकेमा यसवर्ष ८० हेक्टर क्षेत्रफलमा लगाइएको बसन्ते मकैमध्ये करीब ९५ प्रतिशत मकै खेती डुडुवा ६ हिरमिनियामा मात्र गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँकेका प्राविधिक सहायक सुशील शर्माले जानकारी दिए ।


हिरमिनियामा गरिएको कुल मकै खेतीमध्ये करीब ४० प्रतिशत मकै अझै खेतमै रहेको र लगातार वर्षातका कारण किसानले भित्र्याउन नसकेको मकै जोन सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवं हिरमिनियाका कृषक जयपाल मौर्यले बताए । केही किसानले खेतबाट ल्याएर मकै घरमा राखेपनि कुहिन थालेको छ भने केहीले हतारमा ‘थ्रेशर’बाट दाना निकालेपनि सुक्न नपाएर बिक्रीमा समस्या भएको किसानहरुले दुःखेसो पोखेका छन् ।

प्रकाशित मितिः आइतवार, असार २९, २०७६     3:24:36 PM  |