भानु चोकमा मनाईयो भानुभक्त जयन्ती

२९ असार २०७६, आईतवार १४:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती नेपालगञ्जमा एक कार्यक्रमवीच मनाइएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा न्यूरोडस्थित भानुभक्त चोकमा श्रद्धाञ्जली कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरिएको हो । विक्रम सम्वत् १९७१ मा तनहुँको चुँदी रम्घामा जन्मेका आदिकवि आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेका थिए ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले स्वर्गीय आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण गर्दै नेपाली भाषा र साहित्यका लागि गरेको योगदान नेपाली समाजका अविस्मरणीय रहेको बताए । भारतको विभिन्न शहरमा समेत आदिकवि भानु भक्त आचार्यको शालिक निर्माण गरेर उच्च सम्मान गरिएको चर्चा गर्दै उनले नेपाल सरकारले आचार्यको जन्मजयन्ती विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउनु पर्ने र उनीद्वारा रचित पहिलो नेपाली ग्रन्थ रामायणलाई नेपाली समाजमा व्यापकता दिनुपर्ने विचार व्यक्त गरे ।
भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष तथा सहप्राध्यापक हरि प्रसाद तिमिल्सिनाले भारतको विभिन्न शहरमा बसोबास गर्ने नेपाली भाषीहरुले नेपाली जातीय कविको रुपमा सम्मान गर्दै भानुभक्तको जन्मजयन्ती स्थानीय पर्वको रुपमा मनाउँदै आएको चर्चा गरे । नेपालगञ्जमा कहीं कतै पनि भानुभक्त आचार्यको नाममा कुनै पनि चोक वा सडक नभएको अवस्थामा स्थानीय न्यू रोडका बासिन्दाहरुले भानुभक्त चोकको नामाकरण गरेकोमा भेरी साहित्य समाजको तर्फबाट सह्राना गर्दै उनले हरेक वर्ष सोही चोकमा भानु जयन्ती मनाउने घोषणा गरे ।
कार्यक्रममा वहुभाषिक कविता गोष्ठीको पनि आयोजना गरिएको थियो । कविगोष्ठीमा आदिकवि भानुभक्तको बारेमा एक दर्जन नेपाली, हिन्दी र उर्दू भाषी श्रष्टाहरुले आआफ्ना रचना तथा भानुभक्त रचित रामायणको स्लोकहरु वाचन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको पहलमा गत वर्ष साउन ५ गते स्थानीय बासिन्दाहरुको वृहद् भेलाले न्यूरोडको उक्त स्थानलाई भानुभक्त चोक नामाकरण गर्ने निर्णय गरेको थियो ।
भारतका वरिष्ठ साहित्यकार तथा अन्जुमन शाहकार–ए–उर्दू उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वि. विकास स्मृति प्रतिष्ठानका अध्यक्ष पङ्क कुमार श्रेष्ठ, समाजका कोषाध्यक्ष भरत बहादुर रानाभाट, समाजकी सदस्य तथा साहित्यकार लता शर्मा, पुष्पमणि प्रधान, मणि आचार्य, भीम रानाभाट लगायत तीन दर्जन बढी श्रष्टाको सहभागिता रहेको थियो ।
कार्यक्रम पछि भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त भानुभक्त चोकमा आदि कवि भानुभक्त आचार्यको अर्धकदको शालिक निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकासंग बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने र एक समितिसमेत गठन गर्ने निर्णय गरेको भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार तथा पत्रकार पूर्णलाल चुकेले जानकारी दिए ।

Next Post

लागातार झरीका कारण बाँकेका किसान चिन्तित

२९ असार २०७६, आईतवार १४:५०
सदरलाइनडटकम, यदुराज मिश्र/डुडुवा (बाँके) : अविरल बर्षातका कारण बाँकेका कृषक चिन्तित भएका छन् । लगातार पानी परिरहेकाले धान रोपाई गर्न नपाएर कृषक चिन्तित छन् भने मकै बाली भित्र्याएपछि धान रोपाईं गर्ने किसान थप चिन्तामा पिरोलिएका छन् । पाक्नै लागेको मकै भित्र्याउने बेलामा लागातार वर्षात भईरहेकोले खेतमै कुहिन थालेको डुडुवा गाउँपालिका […]