डुडुवाले व्यावसायिक करको दायरा बढाउँदै

  
  प्रकाशित मितिः बिहिबार, असार २६, २०७६       | 54 Views   ||

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले व्यवसाय करको दायर विस्तारको कार्य शुरु गरेको छ । गाउँपालिकाअन्तर्गत रहेका विभिन्न व्यावसायिक पसलहरुलाई करको दायरामा ल्याउनका लागि अभियान थालिएको हो । गाउँपालिकाअन्तर्गत रहेका विभिन्न साना तथा ठुला व्यवसायिक पसलहरुलाई शुरुमा दर्ता प्रक्रियामा ल्याउनका लागि अहिले तथ्यांक संकलनकर्ताहरुलाई खटाइएको छ ।
संकलनकर्तालाई खटाएर सबै व्यवसायिक पसलमा पुगेर करको बारेमा जानकारी दिई दर्ता प्रक्रियामा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चोधरीले बताए । अध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म सबै व्यावसायिक पसल दर्ता गरिसक्नु पर्नेछ । दर्ता गर्दा गाउँपालिकाले गाउँसभाबाट पारित गरेको शुल्क लागु हुनेछ । शुरुमा न्युनतम शुल्क लिएर कर तिर्न बानी बसाल्नका लागि शुरुमा घरमै संकलनकर्ता पठाइएको अध्यक्ष चौधरीले बताए ।
व्यवसाय करको दायरालाई फराकिलो बनाउनका लागि गाउँपालिकाले यो अभियान शुरु गरेको हो । अभियानमा खटिने संकलनकर्तालाई दर्ता फारम भर्नका लागि अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा गाउँपालिकाका लेखापाल नारायण सापकोटा, नासु ऋषिराज गौतम, कम्प्युटर अपरेटर कौशल पटेलले सहजीकरण गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     7:14:42 PM  |