कार्गो विमानमा क्षमताभन्दा बढि सामान भेटियो

  
  प्रकाशित मितिः बिहिबार, असार २६, २०७६       | 35 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल एयरलायन्सको कार्गो उडानमा क्षमताभन्दा बढि सामान पठाउने गरेको पाइएको छ । विमान चालकले शंका लागेर पुनः तौल गरेपछि विमानमा क्षमताभन्दा बढि सामान पठाउने गरिएको पुष्टि भएको हो ।
बैशाख ७ गते नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलमा नेपाल एयरलायन्सको ट्विनएटर कार्गो विमानले उडान गरेको थियो । विमान उडाउने क्रममा बढि सामान भएको शंका लागेपछि चालक मनिष विष्टले सिमकोटमा पुनः तौल गराएपछि १३० किलो सामान क्षमताभन्दा बढि भेटिएको नेपाल एयरलायन्सका एकजना कर्मचारीले जानकारी दिए ।
नेपाल एयरलायन्सको सिमकोट विमानस्थल टावरका प्रमुख गौरीशंकर शाहले सिमकोटमा विमानमा बढि सामान भएको आशंकामा पुनः तौल भएको जानकारी पाएको बताए । क्षमताभन्दा बढि सामान पाइएको भन्दै उनले हुम्लामा यो पहिलो घटना भएको बताए । हुम्ला नेपालकै सबैभन्दा बढि उच्च अल्टिच्यूट भएको जिल्ला हो । विमानमा क्षमताभन्दा बढि भार अतिजोखिमपूर्ण हुने कर्मचारीहरुले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     4:48:15 PM  |