होटल बाटिकाका कर्मचारीद्वारा पत्रकारमाथि कुटपिट

  
  प्रकाशित मितिः बुधबार, असार २५, २०७६       | 113 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा क्रियाशिल तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलमा दुर्ब्यवहारसहित हातपात गरिएको छ । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भिम पौडेललाई बुधवार दिउँसो होटल परिसरमा कुटपिट गरिएको हो ।
होटलका कर्मचारीले कुटपिट गर्नेक्रममा एभिन्यूज टेलिभिजनको क्यामेरा र पत्रकारहरुको मोवाईलसमेत क्षतिग्रस्त भएको छ । केही समयपहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराईदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँसहित पक्राउ परेको थियो । सोही समाचारको पिटिसी लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई कुटपिट गर्दै क्यामरा खोसेका थिए ।
उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । यसैबीच बाँकेका पत्रकारहरुले एसपी वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     5:21:34 PM  |