सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्र तथा जनस्वास्थ्य कार्यालय पछाडीको बस्ती मंगलवार डुबानमा परेको छ । भेरी प्राविधिक शिक्षालय र बेलासपुर हुदै बग्ने नालामा पानी बग्न नपाउँदा डुबान समस्या बल्झिएको हो । दुबै नालाको मिलनविन्दुमा नालाभरी झारपात उम्रिएर निकास थुनिएको छ । नेपालगञ्जमा सोमवार राती भिषण बर्षा भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाले एकिकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको उक्त नालामा सहज रुपमा पानी बग्न नपाउँदा डुबान भएको स्थानीय बासिन्दा शंकर ठकुरीले बताए । थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिका कार्यालयमा फोन गरेर एक्साभेटर पठाईदिन आग्रह गर्दापनि जनप्रतिनिधीले पछि पठाउँला भनेर बेवास्ता गरेको स्थानीयको गुनासो छ ।
बस्ती पुरै जलमग्न भएपछि आवत जावतमा कठिनाई हुने गरेको छ । अबिरल वर्षाले नेपालगन्जको विभिन्न भाग जलाम्य भएको छ । अधिकांश स्थानमा नालाको निकास नहुँदा डुबान समस्या निम्तिएको स्थानीयले बताएका छन् । नगर प्रमुख डा. धवलशम्शेर राणा बर्षा हुँदा नालामा पानी एकैचोटी बग्न नसक्दा पानी जम्ने र वर्षा रोकिएपछि एकैछिनमा सुक्ने गरेकाले डुबान समस्या धेरै समय नटिक्ने जिकिर गर्छन् ।
सोमबार राती परेको बर्षाले नेपालगञ्जका विभिन्न ठाउँमा पानीको निकास थुनिदाँ समस्या आएको उनले सुनाए । २०६३ सालयता निम्तिन थालेको डुबान समस्या समाधान गर्ने भन्दै एशियाली विकास बैंकको ऋणरअनुदान सहयोगमा सुरुमा एकिकृत शहरी विकास आयोजना तथा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा आएको छ । उक्त आयोजनाले सडक, नाला र फोहोरमैला ब्यवस्थापनका नाममा झण्डै ५ अर्ब खर्च गरिसकेको छ । अर्बौ बजेट खर्च भईसक्दा पनि नेपालगन्जबासीले डुबान समस्याबाट मुक्ति पाउन सकेका छैनन् ।