मन्टेश्वरी एशोसिएशनद्वारा चित्रकला प्रदर्शनी

  
  प्रकाशित मितिः शनिबार, असार २१, २०७६       | 96 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : मन्टेश्वरी एशोसिएशन बाँकेद्वारा आयोजित बाल चित्रकला लेखन तथा प्रदर्शनी शनिवार भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा मन्टेश्वरी एशोसिएशनमा आवद्ध बाँकेका ११ वटा मन्टेश्वरी स्कुलका करीब ४२ जना बालबालिकाहरुले भाग लिएका थिए ।
सहभागी बालबालिकालाई प्रशंसापत्र तथा ट्रफी प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले बालबालिकाहरु अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गर्ने काम र व्यावहारिक शिक्षा र ज्ञान दिने जस्तो महत्वपूर्ण जिम्मेवारी मन्टेश्वरी एशोसिएशनले गरेकोमा सह्राना गरे । उनले मन्टेश्वरी विधिको शिक्षा बालबालिकाका लागि एकदमै प्रभावकारी हुने बताए।


कार्यक्रममा एशोसिएशन बाँकेका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुके, समाजसेवी डिला शाह, बासका अध्यक्ष रमेश सिटौलालगायतले सहभागी बालबालिकालाई प्रशंसापत्र तथा ट्रफी प्रदान गरेका थिए । सचिव प्रभा थापाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष खिमा थापाले तथा उपाध्यक्ष दुर्गा बजगाइँले स्वागत मन्तव्य राखेका थिए । यसअघि गत साता एशोसियशनमा आवद्ध मन्टेश्वरी स्कुलका बालबालिका तथा उनीहरुका अभिभावकका लागि स्वास्थ्य सम्बन्धि परामर्श कार्यक्रम गरिएको थियो ।
नेपालगञ्ज मेडिकल कलेजका बाल विशेषज्ञ डा. शकिल अहमदले स्वास्थ्य सम्बन्धि सचेतना तथा जानकारीमूलक परामर्श दिएका थिए । कार्यक्रममा डा. अहमदले हाल बजारमा पाइने जङ्क फुड, इलेक्ट्रोनिक सामान जस्तै मोवाइल तथा टेलिभिजनले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको कुरामा जोड दिएका थिए । अभिभावकका तर्फबाट अमृता पौडेलले आयोजक तथा डा. अहमदलाई धन्यवाद दिँदै यस्तो कार्यक्रमले अभिभावकहरुलाई बच्चाको पालन पोषणमा थप सहजता आउने बताएकी थिइन् ।


संस्थाका सदस्य मीता थैवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जिल्लाको विभिन्न स्थानमा रहेका मन्टेश्वरीहरुको विकास र प्रवद्र्धनका लागि मन्टेश्वरीहरुलाई एउटै मापदण्डमा ल्याउनु मन्टेश्वरी एशोसिएशनको मुख्य उद्देश्य रहेको बताइएको थियो । कार्यक्रममा उपाध्यक्ष दुर्गा बजगाइँले धन्यवाद मन्तव्य रखेकी थिइन् । एशोसिएशनमा नयाँ आवद्ध भएका नेपालगञ्ज पब्लिक स्कुल, ग्रेस प्रि. मन्टेश्वरी र बेबी व्लुमिङ मन्टेश्वरीलाई अध्यक्ष लुना बुढाथोकीले प्रमाणपत्र प्रदान गरिन् ।

प्रकाशित मितिः शनिबार, असार २१, २०७६     6:25:28 PM  |