देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने

  
  प्रकाशित मितिः बुधबार, असार १८, २०७६       | 39 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने भएको छ । हाल मनसूनी न्यूनचापीय रेखा दक्षिणतिर रहेकाले नेपालको सबैतिर पानी पर्न जुलाई ७ कुनुपर्ने मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा मध्यभारतमै रहेकाले मनसुन कमजोर भएको हो ।
१३ दिन अगावै मनसून नेपाल भित्रिएको भनिएपनि नेपालको सबैतिर भने असारको २२ नभई पानी नपर्ने मौसमविद समीर श्रेष्ठले जानकारी दिए । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेपनि पछिल्ला दिनमा पानी पर्नुको साटो देशैभर ह्वात्तै गर्मी बढेको छ ।
पाकिस्तानदेखि बंगालको खाडीसम्म पूर्वपश्चिम लमतन्न फैलिएको मनसूनी न्यूनचापीय रेखा उत्तरदक्षिण सरिरहने र अहिले त्यो रेखा दक्षिणतिर रहेकाले नेपालमा पानी पर्न अझै केही दिन लाग्ने मौसमविद श्रेष्ठले बताए । दक्षिणी भारततिर पानी बढी पर्नुको कारण पनि त्यही रहेको उनले बताए ।

मनसूननै ढिला भित्रियो
उसोत यसवर्ष मानसून नै पनि ढिला प्रवेश गरेको हो । सामान्यतः १० जुनमा प्रवेश गर्नुपर्ने मनसून दश दिन ढिला गरेर २० जूनबाट मात्र नेपाल छिरेको हो । १० जुनमा पूर्वबाट प्रवेश गरेको मनसून वायु १२ जुनमा काठमाडौंमा भित्रने गर्दथ्यो ।
जुलाई ७ सम्म यस्तै अवस्था रहने र पानी पर्दा पनि देशैभर नपरेर खण्ड वर्षा हुने मौसमविद श्रेष्ठले जानकारी दिए । नेपालको सबैतिर यतिबेला गर्मीको पारो मात्र चढेको छैन, पानी पर्ने दिन अझै टाढिँदै छ । मौसम विभागले नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन पूर्ण सक्रिय हुन अरु तीनचार दिन लाग्ने जनाएको छ ।
नेपालमा सामान्यतः जुन १० तिरबाट मनसुनी वायु प्रवेश गरी सेप्टेम्बरको अन्त्य वा अक्टोबरको पहिलो हप्तातिर बाहिरिने गर्दछ । नेपालमा साधारणतः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ ।

यस वर्ष पानी कम पर्ने
एकातिर मनसून ढिला प्रवेश गर्नु, त्यसमा पनि सक्रिय नहुनुले आम कृषकलाई चिन्ता थपिदिएको छ । अझ यसै वर्ष पानी पनि कम पर्ने जल तथा मौसम विभागले जनाएको छ । पूर्वी तथा मध्य क्षेत्रमा औसमभन्दा कम मात्र पानी पर्नेछ । पश्चिमका जिल्लाहरुमा भने औसम वर्षा हुने जनाइएको छ । त्यसमा पनि ५ नम्बर प्रदेशका जिल्लामा चाहिं कम पानी पर्नेछ ।

पानी नपर्दा कृषकलाई पीडा
असार आम किसानका लागि चटारोको समय । नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको मुलुक । यो महिनाभरको परिश्रम र दुःखले वर्ष्दिनका लागि खानाको जोहो गर्नुपर्ने बाध्यतामा छन् कृषक । नेपालको अधिकांश जमीन आकाशे पानीमा निर्भर छ ।
त्यसैले पनि आकाश वर्षेन भने खेतबारी बाँझै रहन्छन् । यस वर्ष यस्तै पीडामा छन् कृषक । असारले आधा ढाड देखाइसक्यो । तर पानी पर्दैन । हुनत मौसमविदले आधा महिना अगावै नेपालमा मनसून प्रवेश गरेको बताएका हुन् । तर पानी नपरेपछि किसान अन्यौलमा छन् । नेपालको अन्नभण्डार मानिएको तराई होस् वा पहाडका कृषियोग्य फाँटहरु धेरै आकाशे पानीकै पर्खामा छन् ।
सिंचाई सुबिधा पुर्याउन नसक्दा खेतियोग्य जमीन धाँजा फाँटेर लडिरहेका छन् । ब्याडमा राखिएका बिउ पानी नपरेरै सुकेर गैसकेको छ । पानी जोहो गर्न सक्नेहरुले कहिंकतै अलिअलि रोपाई गरेपनि अधिकांश क्षेत्रको यस्तै समस्या रहेको छ ।

तीन दिनको मौसमी अनुमान
बुधवार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहीवार भने देशभर आंशिकदेखि सामान्य बदली रही धेरै जसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रवार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, असार १८, २०७६     3:21:34 PM  |