क्वीक्स कपमा चार विद्यालय विजयी

  
  प्रकाशित मितिः शनिबार, असार १४, २०७६       | 29 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा दीपज्योती विद्याश्रम, अरुणोदय बोर्डिङ स्कूल, प्रभात मावि र प्रयत्न इङलिश मिडियम स्कूल विजयी भएका छन् ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा प्रभात मावि, बैजनाथले सेन्चुरी एजुकेशनल एकेडेमीलाई ५–१ गोलले पराजित गरेको छ । प्रभातका लागि सुजन रानामगरले ह्याट्रिक गरेका छन् । जारी प्रतियोगितामा सुजनको ह्याट्रिक पहिलो हो । सुजनले ३ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका थिए । २३ र ४५ मिनेटमा गोल गरेर उनले ह्याट्रिक गरे ।
प्रभातका लागि नरेश कार्की र जीवन आर्गीले एकएक गोल गरेका थिए । दीपज्योती विद्याश्रम, चप्परगौडीले दीपज्योती विद्या नेकतन, डिगियालाई २–० गोलले पाखा लगायो । दीपज्योती विद्याश्रमका लागि बसन्त सिंह र ईश्वर श्रेष्ठले गोल गरेका थिए ।
अर्को खेलमा प्रयत्न इङलिश मिडियम स्कूलले डायनामिक इङलिश मिडियम स्कूल बैजनाथलाई १–० गोलले पराजित गरेको छ । प्रयत्नका लागि विवेक खत्रीले १८ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । अरुणोदय बोर्डिङ स्कूल भने खेल्दै नखेली विजयी भएको छ । जुनियर आइस्टाइन स्कूलले वाक ओभर दिएपछि अरुणोदय नखेलेरनै विजयी भएको हो ।

प्रकाशित मितिः शनिबार, असार १४, २०७६     7:07:27 PM  |