सदरलाइनडटकम,
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते भएका छन् । शनिवार मध्याह्न सवा १२ बजे मोटरसाइकल चढेर आएका अपरिचित दुईजनाले प्रहार गरेको गोली लागी स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन् ।
ब्रह्मस्थान मन्दिरमा निर्माणको काम गरिरहेका बेला महतोमाथि गोली प्रहार भएको स्थानीयवासीले बताएका छन् । उनको पाखुरामा गोली लागेको छ । नवलपुरको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपछि महतोलाई थप उपचारका लागि वीरगन्ज ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।
गोली हान्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
