सदरलाइनडटकम,
नेपालगञ्ज : जेठ १३ गते बाघको आक्रमणमा परेर गम्भीर घाइते भएका खजुरा गाउँपालिका ३ धौलागिरीका दीपबहादुर श्रीष अस्पतालबाट डिस्चार्ज भएका छन् । बाघले आक्रमण गरेपछि लामो समय बाघसँग भिडेका श्रीष सोमवार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
श्रीषलाई उपचारपछि घर फर्किने क्रममा गाउँलेहरुले सोमवार बाजागाजासहित स्वागत गरेका छन् । स्थानीय बासिन्दा करिब ९ किलोमिटर टाढाबाट श्रीषको स्वागतका लागि अस्पताल पुगेका थिए । शिक्षण अस्पताल नेपालगञ्जमा दुई साता लामो उपचारपछि घर फर्किने क्रममा श्रीषको स्वागतका लागि धौलागिरीका स्थानीय बासिन्दा बाजागाजासहित अस्पताल बाहिर पुगेका थिए ।
वडाध्यक्ष कान्तुराम गौतमले घरमै पुगेर श्रीषलाई आवागमनमा सहजताका लागि ह्विलचेयर प्रदान गरे । उपचारपछि घर फिर्ता भएपनि श्रीष अझै हिँडडुल गर्न सक्दैनन् । बाघको आक्रमणबाट श्रीषको पाखुरा, ढाड र शरीरका अन्य भागमा चोट लागेको छ ।

