बर्दियामा बाघ अवलोकन गर्नेको संख्या बढ्दै

२५ जेष्ठ २०७६, शनिबार १६:१३
 

सदरलाइनडटकम,
बर्दिया : बर्दिया निकुञ्जमा पाटे बाघ अवलोकनका लागि जाने पर्यटकको संख्या बढेको छ । बाघ अवलोकन सहज भएपछि विगतको तुलनामा पर्यटक बढेको निकुञ्जले जनाएको छ । निकुञ्जको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म २५ हजार पर्यटकले भ्रमण गरेका छन् ।
गत आर्थिक वर्ष २२ हजार पर्यटक आएका थिए । सन् २०१८ को गणना अनुसार निकुञ्जमा ८७ वयस्क पाटे बाघ फेला परेका छन । निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशतले बाघ देख्न पाउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । उचित आहारा, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको संख्या बढ्दै गएको हो ।
दुई वर्षयता दर्जन बढी बाघको संख्या बढेको बर्दिया निकुञ्जले जनाएको छ । सन् २०१३ मा गणना हुँदा बर्दिया निकुञ्जमा ३५ देखि ५० बाघ भेटिएका थिए । निकुञ्ज घुम्नका लागि विदेशी पर्यटकले १ हजार ५ सय, सार्क मुलुकका पर्यटकले ७ सय ५० र स्वेदेशीले १ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यस्तै जिप प्रवेशका लागि ३ हजार शुल्क छ ।
हात्ती सफारीका लागि विदेशीलाई २ हजार ५ सय, सार्कका लागि १ हजार ५ सय र स्वदेशी पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेको छ । एक दशकयता गैंडाको संख्या ३७ पुगेको छ । सन् २००८ मा संख्या २२ मा झरेको थियो । बबई उपत्यको परेवा ओडारमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी सिकारी भएपछि संख्या एकाएक घटेको थियो ।

Next Post

मोडेल विजयी, ओशोनिक र मिलन बराबरमा

२५ जेष्ठ २०७६, शनिबार १६:१३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगितामा मोडेल टीम, सीगाउँ विजयी भएको छ । अर्को खेलमा ओशोनिक क्लव र मिलन क्लव बराबरी खेलेका छन् । प्रहरी तालिम केन्द्रमा चलिरहेको जिल्ला लिगमा ओशोनिक क्लव अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । ओशोनिकका […]