आफुलाई फसाइएको प्रबन्धक पाठकको दावी

२१ जेष्ठ २०७६, मंगलवार १४:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगञ्जमा २६ करोड बढी अपचलनको आरोप लागेका मध्ये संस्थाका प्रबन्धक अरुणकुमार पाठकले आफुलाई फसाइएको दावी गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै उनले आफुले सहकारीको रकम हिनामिना नगरेको दावी गरे ।
सहकारीको हरहिसाब गर्न सञ्चालकहरुलाई पटकपटक जानकारी गराईरहँदा पनि वेवास्ता गरेको भन्दै पाठकले सहकारी डुब्ने भएपछि आफुलाई कोठामा थुनेर सहकारीको रकम अपचलन गरेको भनेर जवरजस्ती कागजातमा हस्ताक्षर गराएको आरोप लगाए । पाठकले आफुले लिएको ऋण बिभिन्न समयमा तिरेको र अरुले दिने ऋणको रकमसमेत आफुमाथि थुपारिएको दावी बताए ।
छानबिन समितिले दोषी ठहर्याए आफुले रकम तिर्ने पाठकले जानकारी दिए । सहकारीले नियमबिपरित सन्ध्याकालिन काउण्टरसमेत चलाएको पाठकको भनाई छ । त्यस्तै संस्थाका अध्यक्ष संधै बेलुका आएर नियम बिपरित खर्च लिएर जाने गरेको र मासिकरुपमा एक लाख समेत लिने गरेको प्रबन्धक पाठकले पोल खोले । सहकारीका प्रमुखहरुबिरुद्ध मुद्दा परेपछि फरार रहेका पाठक मंगलवार नेपालगञ्ज आएर पत्रकार सम्मेलन पश्चात प्रहरी सामु पुगेका छन् ।
सहकारीको रकम हिनामिना भएपछि गठन गरिएको छानविन समितिको प्रतिवेदनअनुसार प्रबन्धक पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लीलाधर र नायब प्रबन्धक सुवेदी पनि विरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहीन भएका छन् ।
उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेको श्रोतको भनाई छ । २६ करोड रुपैयाँ अपचलन भएको सहकारीले सार्वजनिक गरेपनि संस्थामा करीब ५२ करोड रुपैयाँ मौज्दात रहेको देखिन्छ । सहकारीमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म बचत रहेको छ । उता कर्मचारीहरुबाट अपचलन भएको संस्थाको रकम र सो सम्बन्धी पूर्ण अध्ययन गर्न कम्तिमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको बैठकले २६ गतेसम्म बैंैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ ।
संस्थाले ग्राहकहरुको रकम सुनिश्चित रहेको र आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीलाई बचतकर्ताहरुको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । २०५१ सालमा स्थापना भएको उक्त सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ३ हजार भन्दा बढी सदस्य छन् ।

Next Post

दार्चुलाको यार्सा पाटनमा सुरक्षाकर्मी परिचालन

२१ जेष्ठ २०७६, मंगलवार १४:२६
सदरलाइनडटकम, दार्चुला : दार्चुलाका यार्सा पाटनमा अनुगमनका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ । जेठ दोस्रो सातादेखि खुल्ला गरिएका जिल्लाका यार्सा पाटनहरुमा अुनगमनका लागि अपीनाम्पा संरक्षण क्षेत्रका कर्मचारी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोली खटिएका छन् । यार्सा पाटनमा प्रवेश गरेको यार्सा संकलनहरुले परिचय पत्र लिए नलिएको बारे […]