भारतीय वायुसेनाको विमान चीन सीमानजिकै बेपत्ता

  
  प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६       | 41 Views   ||

फायल तस्बिर ।

सदरलाइनडटकम,
काठमाण्डौ : तेह्र जना यात्री चढेको भारतीय एयर फोर्स विमान एएन ३२ सोमवार दिउँसोको १ बजेपछि सम्पर्कबिहीन भएको छ । भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । दिउँसोको १२ बजेर २५ मिनेटमा उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन ।
विमान चीनको सीमानामा हराएको आशंका गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा ८ जना क्रु मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । विमानलाई खोज्नका लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको छ । तर अहिलेसम्म भने विमानबारे केही जानकारी आउन सकेको छैन ।
एएन ३२ विमान तीन वर्ष पहिले हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रु मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए । त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन । उक्त घटनालाई एउटा रहस्य मानिएको छ ।
(एजेन्सी)

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     5:33:43 PM  |