देवकोटाको “भूत, भविष्य, वर्तमान” सार्वजनिक

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६       | 32 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : कवि आर के देवकोटाद्वारा लिखित “भूत, भविष्य, वर्तमान” नामक खण्डकाव्य शनिवार नेपालगञ्जमा सार्वजनिक गरिएको छ । कवि देवकोटाको पहिलो कृतिका रुपमा रहेको खण्डकाव्यलाई भेरी साहित्य समाज जिल्ला समिति बाँकेले शनिवार बिमोचन तथा बहुभाषिक कवि गोष्ठी समारोहकाबीच सार्वजनिक गरेको हो ।
समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मीले कृतिले श्रोतालाई नयाँपन दिने बताउँदै कवि देवकोटालाई सफलताको शुभकामना दिए । पुस्तकमा शीर्षकमै समयअनुसारका कुराहरु समेटिएको लेखक देवकोटाले जानकारी दिए । सल्यान कोवाङ्गको झिम्पेमा जन्मेका देवकोटाले बिगतमा गाउँ समाज, रहनसहन, वातावारण, अहिलेको समयमा हुने क्रियाकलाप, वातावरण, राजनीतिक अवस्थामा देखिएको बिकृति, बिसंगति तथा भविष्यमा आउने समय, मानिसहरुको रहनसहन जस्ता कुराहरुलाई खण्डकाव्यमा सरल भाषामा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा लेखक, समालोचक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सेनाले देवकोटाको खण्डकाव्यले नेपाली साहित्यको विकासमा सहयोग पुग्ने बताए । साहित्य समाजका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका नेपाली भाषा साहित्यका प्रमुख डम्बर पुनले खण्डकाव्यमाथि टिप्पणी गरे ।
कार्यक्रममा साहित्यकार तथा अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुलाल कुम्हालले अवधी भाषामा कविता प्रस्तुत गरेका थिए भने अन्य साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । हाल नेपाालगञ्ज उपमहानगरपालिका वडा नं. १३ शान्तिनगर बस्दै आएका देवकोटाले आफ्नो कृति आमा–बुवाप्रति समर्पित गरेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६     7:03:55 PM  |